फिचर

अमेरिकामा आकाशियो बेरोजगारी, दुई सातामा झन्डै एक करोडले गरे रोजगारी गुमाएको रिपोर्ट

न्यूयोर्क

कोरोना भाइसरको संक्रमण चर्किएर जाँदा अमेरिकामा बेरोजगारहरुको संख्या रकेट गतिमा उकालो लागेको छ । अमेरिकी श्रम विभागले बुधबार जनाए अनुसार गत साता ६६ लाखले बेरोजगार भत्ता दावी गर्दै सरकार समक्ष आवेदन दिएका हुन् ।

अघिल्लो साता ३३ लाखले रोजगारी गुमाएको विवरण सरकारसमक्ष दिएका थिए । यसरी दुई सातामै अमेरिकामा ९९ लाख बेरोजगार बनेका छन् । भाइरसको प्रकोप लगातार विस्तार भएको र व्यवसाय बन्द हुने क्रम चालु रहेका कारण आगामी साताहरुमा बेरोजगारको दर अझ बढ्ने प्रक्षेपण गरिएको छ । अमेरिकामा एकै साता यति धेरैले रोजगारी गुमाएको यो पहिलो रेकर्ड हो । पछिल्लो दुई दशकमध्ये सन् २००९ मार्च अन्तिम साता एकै पटक छ लाख ६५ हजारले बेरोजगारी भत्ता दावी गरेका थिए ।

सन् २०११ पछि अमेरिकाको रोजगारीमा लगातार बढोत्तरी भएको थियो । फेब्रुअरी महिनामा अमेरिकाको बेरोजगारी दर साढे तीन प्रतिशत थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नीतिले अर्थतन्त्र सुदृढ बनाएको र रोजगारी अभिबृद्धि भएको दावी गर्दै आएका थिए ।

जनवरी र फेब्रुअरीमा अमेरिकामा भाइरस छिरेर जनस्वास्थ्य र अर्थतन्त्र दुबैलाई क्षति पुर्याउने आंकलन पनि उनी खारेज गर्दै आएका थिए । भाइरसले अमेरिकालाई कुनै प्रभाव नपार्ने ट्रम्पको दावी विपरित मार्च महिनाभरमा अमेरिकामा दुई लाख संक्रमित पुगि सकेका छन् । भाइरसको नयाँ इपिसेन्टरको रुपमा अमेरिका स्थापित भएको हो ।

भाइरसको संक्रमणबाट अर्थतन्त्रलाई जोगाउन संसदले अहिलेसम्म तीन वटा रहत प्याकेज ल्याइ सकेको छ । त्यसमध्ये हालसम्मकै ठूलो पछिल्लो दुई हजार डलरको प्याकेजबाट प्रत्येक अमेरिकीलाई पनि नगद सहायता दिन लागिएको हो । जस अन्तर्गत अमेरिकामा सामाजीक सुरक्षा नम्बर लिएका प्रत्येक वयस्कले १२ सय डलर र बेरोजगारी भत्ता दावी गर्नेले साताको ६०० सय डलरसम्म पाउनेछन् । अहिले बेरोजगार बन्नेहरु सबै यो भत्ताको हकदार रहेका हुन् ।

अर्थशास्त्रीहरुले गत साता ३१ लाख जनाले बेरोजगारी भत्ता अपिल गर्ने अनुमान गरेका थिए । तर, त्यो भन्दा दोब्बरले रोजगारी गुमाएर सरकारसँग राहत माग गरेका हुन् । भाइसर संक्रमण फैलनु अघिको तुलनामा यो बेरोजगारी तीन हजार प्रतिशतले बढेको हो ।

अमेरिकामा १६ करोड ५० लाख कामकाजी जनशक्ति रहेको छ । गत दुई सातामा त्यसको छ प्रतिशतरले रोजगारी गुमाइ सकेको एवं पुरानो साढे तीन प्रतिशत समेत थपिँदा मार्चको बेरोजगारी दर १० प्रतिशत छुनसक्ने अर्थशास्त्रीहरुको अनुमान छ ।