फिचर

आइतबार अमेरिकाले नेपालबाट थप नागरिक फिर्ता लैजाँदै, अन्य कुन देशले गर्दैछन् चार्टर्ड उडान ?

काठमाडौं । अमेरिकाले आइतबार नेपालमा दोस्रो चार्टर्ड उडान गर्ने भएको छ । कतार एयरवेजको जहाजबाट अमेरिकाले नेपालमा छूटफूट अन्य नागरिकलाई समेत स्वदेश फर्काउन लागेको हो ।

अमेरिकी नागरिकले घर फिर्तीको चाहना राखेपछि जहाज चार्टर्ड गरेको हो । अमेरिका सरकारले व्यक्ति आफैले टिकट काट्नुपर्ने प्रावधानसहित नेपालमा रहेका नागरिकलाई घर फकाउन सहजिकरण गरिरहेको छ ।

त्यसो त सबै मुलुकले नेपाल भ्रमणमा आएका नागरिकलाई आफैले टिकटको व्यवस्था गर्नुपर्ने शर्तमा मात्र घर फर्काइरहेका छन् ।

टिकट काट्न नसक्ने र भिषा अवधी पनि कायम रहेका विदेशी पर्यटक भने नेपालमै बसेका छन् । यसरी करीव १ सय भन्दा बढी पर्यटक पोखरामा रोकिएका छन् ।

उनीहरु भने भने विभिन्न मुलुकका हुन् । अमेरिकाले आइतबार चार्टर्ड उडान गर्न लागेको अमेरिकी दूतावासले पुष्टी गरेको छ ।

यसअघि गत मंगलबार पनि अमेरिकाले ३ सय २ जना अमेरिकनलाई घर फर्काएको थियो ।

काठमाडौंमा रहेका विदेशी पर्यटकलाई आ–आफ्नो मुलुक फर्काउन आगामी एक साताभित्र करिब आधा दर्जन अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तयारी छ ।

श्रीलंकाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी ७ अप्रिलमा कोलम्बो उडाउने तयारी गरिरहेको छ ।

शनिबार जर्मन नागरिक लैजान कतार एयरवेजको जहाज आउने भएको छ ।

यो जहाज फ्यांकफ्रट उडने भएको छ । शनिबार नै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एयरलाइन्सबाट फिर्ता लैजाने भएको छ ।

फ्रान्सले पनि शनिबार नै कतार एयरवेजबाट आफ्ना नागरिकलाई फिर्ता लैजाने तयारी गरेको छ ।

अप्रिल १० मा दक्षिण कोरियाले आफ्ना नागरिकलाई कोरियन एयरमार्फत फिर्ता लैजाने भएको छ ।