स्वास्थ्य

नेपालमा कोरोना दोस्रो चरणमा, अब आगन्तुकबाट घरका मानिसमा सर्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको दोस्रो चरण शुरु भएको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो ।

यसअघि विदेशबाट नेपाल आउने मानिसमा मात्र कोरोना थियो । तर, शनिबार एकै पटक तीन जनामा देखिएको कोरोनाको संक्रमण अब विदेशबाट फर्किएपछि स्थानीय मानिसमा सर्न थालेको छ ।

विश्व स्पास्थ्य संगठनले यसलाई संक्रमणको दोस्रो चरण मानेको छ । मन्त्रालयले लकडाउन कडाइका साथ पालना गर्न र घरभित्रै बस्न आह्वान गरेको छ ।

यो कोरोना रोकथाम तथा नियन्त्रणको काममा सर्वसाधारणले गरेको सहयोग ठहरिने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिंगका क्रममा कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी गराएको थियो ।

अब कुल संक्रमितको संख्या ९ पुगेको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

४१ र २१ वर्षका पुरुष भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेको अवस्थामा संक्रमण भएको हो ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू भएको मन्त्रालयले जनाएको छ ।