समाचार

धनगढीमा अब उपभोग्य सामानको पसल समेत बन्द हुने

धनगढी । अब धनगढीमा आजबाट दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द हुने भएका छन् । धनगढीमा थप कोरोना संक्रमित फेला परेसँगै धनगढीमा आइतबारदेखि दैनिक उपभोग्य सामग्री बेच्ने पसल समेत बन्द गर्ने निर्णय भएको हो ।

धनगढी उप–महानगरपालिकाले सम्पूर्ण पसल बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाउन आवश्यक रहेको भन्दै उपमहानगरले यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठुलो मानवीय क्षति निम्त्याउने चेतावनी दिएको छ ।

सोहीकारण उपमहानगरको श्रोत साधनले भ्याएसम्म सतर्कताको पूर्वतयारीमा जुटेको समेत उल्लेख गरेको छ ।

उप–महानगरपालिकाले आइतबार बिहानै देखि लागु हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामाग्रीका पसलहरु, सबै किसिमका सवारी साधनहरु पूर्ण रुपमा बन्द गरेर सहयोग गरिदिनहुन व्यापारीहरुलाई आग्रह गरेको हो ।

अतिआवश्यक दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गरी सहयोग गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ कैलाली, दुग्ध ब्यावसायी, तरकारी ब्यावसायीलाई उपमहानगरपालिकाले आग्रह गरेको छ ।

उपमहानगरपालिकाले शनिबार मात्रै बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो। कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबार नै थप एक संक्रमित देखिएपछि त्यो निर्णयलाई समेत सच्याइएको छ ।

धनगढीसहित सुदूरपश्चिममा शनिबार तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या अब ४ पुगेको छ। उनीहरु चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।