स्वास्थ्य

कोरोनाविरुद्ध महिला स्वयंसेविका परिचालन हुने

काठमाडौं । सरकारले कोरोनाविरुद्ध स्वास्थ्य अभियानमा ग्रामीण महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । देशभर करीव ५० हजार हाराहारी यस्ता स्वास्थ्य सेविका रहेको अनुमान छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले सुरक्षाको पूर्ण प्रत्याभूति गरेर स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

उनीहरुको पारिश्रमिक र बीमा व्यवस्था सरकारले गर्ने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले उल्लेख गरे ।

अब खासगरी स्थानीय स्तरमा कोरोनाको संक्रमण फैलन सक्ने आंशकासहित सरकारले महिला स्वास्थ्य स्वयमसेविकलाई परिचालनको नीति लिन लागेको हो ।

सरकारले अब क्वारेन्टाइनमा बसेकालाई लक्षण नदेखिएपछि विनापरीक्षण घर नपठाउने निर्णय गरेको छ ।

बैठकले क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने निर्णय गरेको छ ।

अब कोरोना संक्रमण देखिएको बिरामीलाई लिन जाने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने तथा उनीहरुको भूमिका र सुरक्षाको विषय सरकारले प्रष्ट पारेको बिडारीले उल्लेख गरे ।

यस बैठकले पनि लकडाउनको विषयमा भने कुनै निर्णय गर्न सकेन । लकडाउन अवधि २५ चैत राती १२ बजेपछि सकिदैछ ।