समाचार

पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी सोमबार खोलामा डुबेको छ । स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेपछि तस्वीर एकाएक सामाजिक संजालमा भाइरल बन्यो ।

खासगरी सिण्डिकेट हटाउन नसकेको, समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न नसकेको आरोपका कारण वर्तमान मन्त्रीपरिषद्का आलोचित सदस्य हुन् महासेठ ।

उनको सवारी खोलामा डुबेपछि कठै भन्ने भन्दा ठिक्क पर्यो भन्ने सामाजिक संजालमा धेरै भेटिए । धेरैजसो नागरिकको अपेक्षा अब अफ्ठ्यारा स्थानमा पुल निर्माणले गति लिन्छ कि भन्ने समेत रहेको छ ।

किनकी पूर्वाधार मन्त्री नै पुलको अभावले खोलामा फसेपछि अब उनले सवक सिकेको टिप्पणी धेरैले गरेका छन् ।

मन्त्री महासेठसहितको टोली सोमबार सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको थियो । उनलाई मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए ।

खोलामा डुबेको गाडीको इन्जिन काम नगर्ने अवस्थामा पुगेपछि क्रेनको सहयोगमा बाहिर निकालिएको थियो । मन्त्रीलाई अर्को गाडीमा राखेर फर्काइएको थियो ।