स्वास्थ्य

बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

न्युयोर्क

बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् ।  

प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि कायम नै रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो ।

जोन्सनको निजी चिकित्सकको सुझाव अनुरुप प्रधानमन्त्री जोन्सन लाई अस्पातल लगिएको बताइएको छ । डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छ; “चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो” ।

मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोन्सनले निवासमै बसेर काम गर्दै आएका थिए ।

उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए।

(बि बि सि नेपालीको समाचारका आधारमा तयार पारिएको रिपोर्ट)