फिचर

कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशको आफ्नै वायुसेवा सञ्चालनको योजना सार्वजनिक गरेको छ । प्रदेशको आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना राखिएको छ । यसपाली बन्दै गरेको बजेटमा यो योजना समेटेर जाने योजना प्रदेश सरकारले बनाएको छ ।

प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार निजी क्षेत्रसँगको साझेदारमा आफ्नै वायुसेवा संचालन गर्ने योजना छ ।

सरकार एक्लैले जहाज कम्पनी स्थापना गर्ने नभई भइरहेकै निजी कम्पनीलाई सहुलियतमार्फत आकर्षित गरी उक्त कम्पनीको सेवालाई कर्णाली प्रदेशमा केन्द्रित गर्न सकिने योजना प्रदेश सरकारको रहेको छ ।

कर्णाली सहित देशभरका सात वटै प्रदेश अहिले बजेट बनाउने चटारोमा छन् । कर्णाली प्रदेशले संघीय सरकारसँग समन्वय गरी दूर्गम सेवा कोषको रकम सदूपयोग गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ ।

उक्त कोषबाट उडान अनुमति प्राप्त गरी सुर्खेतबाट प्रदेशका जिल्ला सरमुकाम तथा संघीय राजधानीसम्म नियमित जहाज उड्ने वातावरण बनाउने प्रदेश सरकारको योजना छ ।