स्वास्थ्य

लकडाउन ३ वैशाखसम्म लम्बियो

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लकडाउन ८ दिन थप गर्ने निर्णय गरेको हो । अब बैशाख ३ सम्म लकडाउन कायम हुने भएको छ ।

लकडाउनको अवधि प्रारम्भमा तोकेको भन्दा दोस्रो पटक थपिएको हो । नेपालमा दोस्रो संक्रमण पुष्टी भएसँगै ११ चैतबाट चैत १८ सम्म लकडाउन घोषणा भएको थियो ।

तर, उक्त अवधि पनि पूरा नहुँदै २५ गतेसम्म थपिएको थियो । तर, यो अवधिमा पनि कोरोना संक्रमण नघटेपछि सरकारले लकडाउन घोषणा गरेको हो ।

यसअघि सरकारले स्थानीय स्तरमा कोरोनाको संक्रमण फैलिएको आंशकामा एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म समेत जान नसक्ने गरी कडाइ गरेको छ ।

यसअघि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउन लब्याउने सिफारिस गरेको थियो ।

लकडाउन बढाउन र तिब रुपमा परिक्षण बढाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

मन्त्रीपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई प्रदेश १ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई गण्डकी प्रदेशसँग समन्वय गर्ने जिम्मा दिएको छ ।

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई कर्णाली प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ । प्रदेश नम्बर ५ सँग समन्वय गर्ने जिम्मा ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले पाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले प्रदेश २ सँग समन्वय गर्ने भएका छन् ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने गरी तोकिएको छ ।