समाचार

नेपालमै छ १ सय वर्ष पुरानो सुरुङमार्ग

काठमाडौं । मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर छेउमा अवस्थित सुरुङ बनेको १ सय वर्ष नाघेको छ । दक्षिण एशियाकै पहिलो मानव निर्मित दावी गरिएको यस सुरुङको संरक्षणमा हेटौडा उपमहानगरपालिकाले पहल थालेको छ ।

१ सय वर्ष पुरानो संरचना भएका कारण यो अब पुरातत्व विभागको स्वामित्वमा पुगिसकेको छ । उपमहानगरपालिकाले भने बाहिरी भागको मात्र काम गर्ने अधिकार प्राप्त गर्छ ।

यो सुरुङमार्ग तत्कालिन राणा सरकारका पालामा निर्माण भएको हो । यही सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म सामान ल्याउने र त्यहाबाट भरीयाको सहायतामा काठमाडौंसम्म सामान लैजाने गरिन्थ्यो । त्यतिबेला काठमाडौंमा चल्ने सरकारी गाडी पनि भीमफेदीसम्म यही सुरुङमार्ग पार गरेका छिरेका हुन्थे ।

त्रिभुवन राजपथ बनेपछि सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो । सडक छेउमा देखिएका सुरुङका मुखहरु थुनिए । तर, मन्दिर नजिकैको सुरुङमार्गको केही भाग भने अझै सग्लो अवस्थामा छन् ।

तत्कालिन सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेको बताइन्छ ।

चुरिया सुरुङ सन् १९१७ मै बनेको तथ्यांक रहेको छ । राणाले १ सय वर्ष पहिले नै भित्राएको यो अवधारणालाई त्यसपछिका सरकारले चछ्याउन सकेनन् । फलस्वरुप नेपाल विकासमा निकै पछाडी परिरह्यो ।