समाचार

अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने भएको छ ।

कालिमाटी तरकारी बजारमा अधिक भिडभाड भएको र अन्य स्थानमा तरकारीको अभाव भएको भन्दै महानगरपालिकाले भोलीबाट अस्थायी तरकारी बजार सञ्चालनको योजना बनाएको हो ।

अहिले कालीमाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा मानिसहरुको बढी भीड लाग्ने गरेको छ । तर, लकडाउनका कारण अन्य स्थानमा भने तरकारीको अभाव रहेको छ ।

भीड नियन्त्रण गर्दै कोरोनाको संक्रमण घटाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ११ स्थानमा तरकारी बेच्ने ठाउँ उपलब्ध गराइएको छ ।

महानगरपालिकाका अनुसार काठमाडौंमा कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल नजिकको चोक, तिनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधीभर अस्थायी तरकारी बजार लाग्ने भएको छ ।

११ ठाउँबाट थोक बिक्रि हुने भएको छ । यहाँबाट खुद्रा बिक्रि गर्ने व्यापारीले लैजान सक्ने भएका छन् ।

यस्तो बजार बिहान ८ बजेसम्म मात्र चल्नेछ । सबै स्थानमा ठाउँमा सबै खाले फलफूल र तरकारी उपलब्ध हुने भएका छन् ।

यसअघि कालिमाटीमा अधिक भिडभाड बढेको भन्दै महानगरपालिकाले त्यहा भित्र खुद्रा पसल बन्द गरेको छ ।