विज्ञान प्रविधि

राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने

काठमाडौं । कोरोना संकटका कारण हरेक दिन ज्यालादारी गरेर कमाउने वर्ग समस्यामा परेको छ । उनीहरुलाई अहिले विभिन्न क्षेत्रले सहयोग गरिरहेका छन् ।

तर, केही मानिसले सहयोगका नाममा आफ्नो प्रचारको काम बढी गरेको भन्दै गुनासो आएपछि सरकारले अब सामाजिक संजालबाट राहत वितरणको फोटो तस्वीर सार्वजनिक गर्न नपाउने निर्णय गरेको छ ।

राहत वितरणको सस्तो प्रचार गरेर गरिबीको मजाक उडाइएको भन्दै त्यसको आलोचना भइरहेको छ । सोहीकारण सरकारले सरकारले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो ।

कोरोनाको महामारीका कारण विश्व नै संकटमा परेको छ । यसबाट बच्न सरकारले ११ चैतबाट लकडाउन घोषणा गरेको हो ।

कतिपयले भने स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि लगाउनु पर्ने पीपीई लगाएर फोटो सामाजिक सन्जालमा राखिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै स्थानीय तहहरुलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

गरिब तथा विपन्न नागरिकले राहत महसुस गर्ने गरी काम गर्न तर प्रचारमा ध्यान नदिन यस्तो निर्देशन दिइएको हो ।

केही स्थानीय तहमा स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग जनप्रतिनिधि तथा अन्य असम्बन्धित व्यक्तिहरुले समेत गर्ने गरेको तथा राहत वितरणका गतिविधिहरु समेत सार्वजनिकीकरणको लागि मात्र केन्द्रित गर्ने जस्ता गतिविधिहरु भएको बुझिएको हुँदा यसबाट जनमानसमा राम्रो सन्देश नजाने विषयलाई आत्मसात गरी यस्ता कृयाकलापहरु नगर्ने र नगराउने तथा यस्ता गतिविधिहरु निरुत्साहित गर्ने गरी सरकारले निर्देशन जारी गरेको हो ।