समाचार

सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

काठमाडौं । बिहीबार अपरान्ह सरकारले एक निर्णय गर्यो । निर्णय अनुसार काठमाडौंबाट उपत्यका छाड्ने चाहनेका लागि शुक्रबार र शनिबार सार्वजनिक यातायात खुला गर्ने ।

काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय कोभिड १९ सम्बन्धी उच्चस्तरीय संयन्त्रबाट भयो ।

तर, यो निर्णय करीव डेढ घण्टा मात्र टिक्यो । सरकारको यो निर्णयलाई प्रदेश सरकारहरुले विरोध गरे ।

यातायात व्यवसायीले पनि सरकारको यस निर्णयमा साथ नदिने बताए । त्यसपछि संघीय सरकार आफ्नो निर्णयबाट फिर्ता भयो । त्यति सम्म त ठिकै छ ।

निर्णय फिर्ता भएसँगै उपप्रधानमन्त्री इश्वर पोखरेलको नाममा एक विज्ञप्ती सार्वजनिक गरियो ।

जहाँ संचारमाध्यमले हुँदै नभएको निर्णयलाई अफवाह फिजाएको उल्लेख छ । तर, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सामाजिक संजालबाट यथार्थ सार्वजनिक गरेको छ ।

जसअनुसार सरकारले यातायात खुलाउने निर्णय गरेको थियो । तर, प्रदेश सरकारहरुको विरोध पछि निर्णय फिर्ता लिइएको अपडेट गरिएको छ ।

तर, इश्वर पोखरेलले निर्णय गरेर पनि होइन भन्दै गरेको प्रचारको भने आलोचना भइरहेको छ ।

कोरोना भाइरस (कोभिड १९) को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ ।

लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका थिए । सोहीकारण संघीय सरकारले दुई दिन यातायात खुलाउने तयारी गरेको थियो ।