फिचर

भाइरस संक्रमण र बेरोजगारी चुलिँदै जाँदा ट्रम्पप्रति निराश अमेरिकीको संख्या बढ्दो

गुगल फाईल फोटो

न्यूयोर्क /

कोरोना भाइरसबाट अमेरिकामा लाखौँ संक्रमित एवं हजारौँले ज्यान गुमाइसक्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने ट्विटरमा उत्सव मनाउँदै थिए । कारण थियो, भाइरस सम्बोधनका लागि उनले चालेका कदमप्रति जनताको समर्थन ।

मार्च दोस्रो साता कोरोनाका कारण उत्पन्न परिस्थितीसँग जुध्न राष्ट्रिय संकटकालको घोषणा, सामाजीक दूरी कायम गर्ने एवं परिक्षणलाई तीब्रता दिने निर्णय र दिनहुँ ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्न थालेपछि जनताले उनको कामलाई सकारात्मक नम्बर दिएका थिए।यतिसम्म की समग्र कामको मूल्यांकन ऋणात्मक रहे पनि कोरोना भाइरसप्रति उनले चालेका कदमप्रति जनता सकारात्मक थिए।त्यसले ट्रम्पलाई उत्साहित मात्र बनाएन चर्चित टिभी सोहरुभन्दा पनि धेरैले आफ्नो पत्रकार सम्मेलन हेरेको भन्दै ट्विट नै गर्न भ्याए ।

तर, उनको यो खुसीयाली लामो समय टिक्न नसक्ने देखिएको छ । एकातिर बेरोजगारको संख्यामा तीब्र बृद्धि एवं अर्कोतिर अमेरिका संसारमै सबैभन्दा धेरै संक्रमित भएको मुलुक मात्र होइन मृतकको संख्यामा पनि सबैलाई उछिन्ने लक्षण देखिएसँगै उनीप्रति निराश जनतम बढ्न थालेको हो ।

५० प्रतिशत नजिक पुगेको उनको ‘जब एप्रुभल (कामप्रति जनताको सन्तुष्टि)’ फेरि ४० प्रतिशत बिन्दुतर्फ ओर्लिन थालेको छ । पछिल्लो एक सातायता सार्वजनिक भएका कुन्निपियाक विश्वविद्यालय, रोयटर्स, सिएनएन लगायत सबैको सर्भेमा ट्रम्पप्रतिको जन समर्थन घट्दो देखिएको छ ।

आफ्ना प्रतिबद्ध समर्थकको साथ कहिल्यै नगुमाए पनि ट्रम्पले निर्वाचित भएयता एक पटक पनि बहुमत जनताको भरोसा जित्न सकेका छैनन् । कोरोना भाइरस संक्रमण सुरु हुँदा उनको समर्थन केही बढ्ने संकेत देखिएको भए पनि एप्रुभल रेटिङ ५० प्रतिशत छुन नपाइ खस्किन थालेको हो । कोरोना भाइरस नियन्त्रणका लागि ह्वाइट हाउस टास्कफोर्समै रहेका बिज्ञ, डाक्टर एवं राज्यका गभर्नरहरुले चालेको कदमप्रति भने जनताले ठूलो भरोसा देखाएका छन् ।

अप्रिल एक तारिखमा रियल क्लियर पोलिटिक्सको औषत आंकडामा उनको एप्रुभल रेटिङ ४७.४ प्रतिशतसम्म पुगेको थियो । अहिले त्यो ४५.२ प्रतिशतमा खस्कि सकेको छ । ट्रम्पले आफुलाई लगातार युद्धकालिन राष्ट्रपतिको रुपमा दावी गर्दै आएका छन् । ह्वाइट हाउसबाट हुने दैनिक ब्रिफिङमा आफ्नै प्रसंसा बढि गर्ने र विपक्षीहरुमाथि राजनीतिक आवेग साँध्ने क्रम बढेसँगै उनले आर्जेको केही समर्थन फेरि पुरानै बिन्दुतर्फ ओर्लिएको हो । जनस्वास्थ्य विज्ञहरुका साथमा उभिएर चिकित्सकीय रुपले पुष्टि नभएका औषधी समेत उनले दावी गर्दै आएका छन् । कति पटक उनकै सामुन्ने उनको अभिव्यक्ति कोरोना भाइरस टास्कफोर्स अधिकारीले सच्याउनु परेको छ ।

पटक पटक अडान बिहिन र द्विविधायुक्त कुरा गरेपछि उनकै चरण चरणका अभिव्यक्ति समेटेर डेमेक्रेटहरुले देशब्यापी रुपमा टेलीभिजन विज्ञापन बजाइ रहेका छन् । डेमोक्रेटिक पार्टीबाट ट्रम्पका प्रत्यासी एवं पूर्व उपराष्ट्रपति जो बाइडेनले लगातार भाइरस संक्रमणमा ट्रम्पको दोष नभएपनि यसले अन्दाधुन्द विस्तारको मौका पाउनुमा ट्रम्पकै गैर जिम्मेवारीको मुख्य हात रहेको बताइ रहेका छन् । विहीबार सार्वजनिक मनमाउथ विश्वविद्यालयको सर्वेक्षण अनुसार मार्च यता ट्रम्पप्रति सकारात्मक अमेरिकीको संख्या चार प्रतिशत बिन्दुले घटेर ४२ प्रतिशतमा झरेको छ । ५० प्रतिशत उनीप्रति रुष्ट छन् ।

अप्रिल ६ र ७ मा रोयटर्सले ९५९ जना अमेरिकी माझ गरेको सर्भेक्षण अनुसार ४२ प्रतिशतले ट्रम्पको काम समर्थन गरेका छन् भने ५५ प्रतिशतले असन्तुष्टि जनाएका छन् । यस्तै अप्रिल २ देखि ६ सम्म दुई हजार ७७ अमेरिकी मतदाता माझ कुन्निपियाक विश्वविद्यालयले गरेको सर्भेक्षणमा ४५ प्रतिशत अमेरिकीले ट्रम्पको कामलाई रुचाएका छन् भने ५१ प्रतिशतले उनलाई पास मार्क्स दिन मानेका छैनन् ।