अर्थतन्त्र

कोरोना उपचार कोषमा प्रधानमन्त्तीले राखे एक महिनाको तलव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा एक महिनाको तलव योगदान गरेका छन् ।

प्रधानमन्त्रीको एक महिनाको तलव बराबर ७७ हजार २ सय ८० रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईबाट ७० हजार ७ सय ३० रुपैयाँ जम्मा भएको छ ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले ७० हजार ६ सय ३० रुपैयाँ जम्मा गरेका छन् ।

प्रेस सल्लाहकार सूर्य थापाबाट ६७ हजार ३० रुपैयाँ कोषमा जम्मा भएको कार्यालयले जनाएको छ ।

आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरेले ६४ हजार ७ सय २६ रुपैयाँ, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले ६५ हजार १ सय ४० रुपैयाँ, र स्वकीय सचिव राजेश बज्राचार्यबाट ६० हजार ६ सय ८० रुपैयाँ जम्मा गरिएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिब्या सिंहले ११ हजार २ सय ८८ रुपैयाँ जम्मा गरेकी छन्। कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ ।

बिहीबार मात्रै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको तर्फबाट ८० लाख १४ हजार रुपैयाँ कोषमा आएको छ ।

सर्वोच्च अदालतले ३१ लाख ६१ हजार कोषमा राखेको छ । लक्ष्मी बैंकले ३० लाख र सलेवेज डिपार्टमेन्ट स्टोरले २५ लाख रुपैयाँ राखेको कार्यालयको तथ्यांक् छ ।

कर्मचारी संचयकोषका कर्मचारीको तर्फबाट २१ लाख ६ हजार, क्षमादेवी कन्स्ट्रक्सनबाट १० लाख ११ हजार, उच्च अदालतबाट ५ लाख ६४ हजार रुपैयाँ प्राप्त भएको छ ।

बिहीबारसम्म कोषमा १ अर्ब ९१ करोड ५० लाख चार हजार १ सय ९७ रुपैयाँ जम्मा भइसकेको छ ।