स्वास्थ्य

लगातार छैटौं दिन पनि नेपालमा भेटिएनन् थप संक्रमित

काठमाडौं । नेपालमा लगातार छैटौं दिनसम्म पनि कोरोना भाइरसका थप संक्रमित फेला परेनन् । यसअघि अघिल्लो साता शनिबार एकैपटक तीन जनामा संक्रमण पुष्टी भएको थियो ।

तर, त्यसपछिको परिक्षणमा भने कोरोना देखिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक सातायता कोरोनाको परिक्षण तिब्र बनाइएको छ ।

अघिल्लो सताको तुलनामा दोब्बर भन्दा बढीमा परिक्षण भएको छ । आफूलाई कारोनाको आंकका गरी अस्पतालसम्म धाउने बिरामी, संक्रमण देखिएका बिरामीका आफन्त, उनीहरुले संगत गरेका व्यक्तिलगायतमा अहिले परिक्षण भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका कूल ६ सय ३० जनामा नेगेटिभ देखिएको छ ।

यस अवधिमा उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । यो पछिल्ला दिनहरुमा भएको सबैभन्दा धेरै परिक्षण हो ।

उनका अनुसार नेपालमा अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको छ । अझै ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा छन् ।

नतिजाबाट ९ जनामा पोजेटिभ देखिएको छ । बिहीबारबाट र्‍यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको हो ।

सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको परिक्षण किटको जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

चार जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

उपत्यकाबाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ ।

कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरी पठाएको छ ।