फिचर

नेपाल र मरिससबीच श्रम सम्झौता, कुन क्षेत्रमा जान पाउँछन् नेपाली कामदार ?

काठमाडौं । नेपाल र मरिससबीच मंगलबार श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार स्विट्जरल्यान्डको जेनेभामा मन्त्री गोकर्ण विष्ट र उनका मौरिससका समकक्षीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा भाग लिन यी दुबै मन्त्री जेनेभा पुगेको अवसर पारी विपक्षीय समझदारीमा हस्ताक्षर भएको हो ।
मन्त्रालयका अनुसार आतिथ्य सत्कार (होटेल, रेष्टुरेन्ट) र उत्पादनमुलक क्षेत्रमा नेपाली कामदारको माग आउने छ ।

नेपाली कामदार यसै सम्झौतामा आधारित भई मरिसस जान पाउने भएका छन् । द्धिपक्षीय समझदारी अनुसार दुवै मुलुकले पारदर्शिता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना, छनौट र परिचालनको सिद्धान्त प्रति प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

मरिससमा नेपाली कामदार लैजाने रोजगारदाताले सम्पूर्ण खर्च बेहोर्नेछ । अनियमित भर्ना, बाध्यकारी श्रम र मानव बेचबिखन जस्ता जघन्य अपराध नियन्त्रणमा दुबै देशले प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाली कामदारले मौरिससका नागरिकको न्यूनतम ज्याला भन्दा कम सुविधामा काम गर्नुपर्ने छैन । ज्याला, ओभरटाइम भत्ता र कामदारको न्यायको पहुँचमा विभेद नहुने गरी समझदारी भएको मन्त्रालयले उल्लेख गरेको छ ।