समाचार

विश्व बैंकले भन्यो : नेपालको आर्थिक क्षेत्रमा गहिरो प्रभाव, वृद्धिदर १.५ प्रतिशतमा झर्छ

काठमाडौं । विश्व बैंकले कोरोना भाइरसले उत्पन्न गराएको संकटले नेपालको अर्थतन्त्रमा गहिरो प्रभाव पर्ने आंकलन गरेको छ ।

यसले आर्थिक वृद्धिलाई संकुचनमा पार्ने भएको छ । सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

तर, अब कोरोनाका कारण आर्थिक् गतिविधि ठप्प भएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म झर्न सक्ने आंकलन विश्व बैंकले गरेको छ ।

विश्व बैंकले आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गरेको छ । जसमा आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने अनुमान गरिएको छ ।

यसले आगामी दुई आर्थिक वर्षसमेत प्रभावित हुने देखिएको छ । विश्व बैंकले दक्षिण एसियाली क्षेत्रमै कोभिड १९ ले नराम्रो प्रभाव पार्ने बताएका छ ।

यसमा पनि पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुक बढी प्रभावित बन्दैछन् । यसबाट माल्दिभ्सको अर्थतन्त्रमा १३ प्रतिशसम्मको ऋणात्मक अवस्था आउने देखिएको छ ।

भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत घट्ने भएको छ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदर पनि ऋणात्मकमा जाने भएको विश्वबैंकले उल्लेख गरेको छ ।

खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने विश्व बैंकको भनाई रहेको छ ।

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवन कष्टकर बन्ने देखिएको छ ।

होटेल तथा रेष्टुरेन्ट, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसलाई कोभिडले नराम्रोसँग प्रभावित बनाउनेछ ।