मनोरञ्जन

राष्ट्रपतिको कामना : साझा प्रयासले कोरोनाविरुद्ध जीत प्राप्त हुनेछ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा प्रयासबाट कोरोना भाइरसविरुद्ध जीत प्राप्त हुने बताएकी छिन् ।

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नयाँ वर्षमा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई अझ सशक्त बनाउनु पर्ने बताएकी छिन् ।

उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताएकी छिन् ।

राष्ट्रपतिले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणमा एक जुट भई लाग्न नेपालीलाई आह्वान समेत गरेकी छिन् ।

कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने उनको भनाई छ ।

उनले यसबाट अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्न जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने उल्लेख गरेकी छिन् ।