मनोरञ्जन

लकडाउनले घरभित्रै थुनेको नयाँ साल

काठमाडौं । आज विक्रम संवत् २०७७ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन नेपालभर हर्षोल्लासपूर्ण तरिकाले मनाइँदैछ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन वैशाख सङ्क्रान्ति हो । त्यसकारण यस दिनलाई धार्मिक र सामाजिक मान्यता अनुसार पनि वर्षका जेठो दिन मानिन्छ ।

नयाँ वर्षले हरेक पटक उत्साह बोकेर आउँछ । पुरानो खराब प्रवृत्तिलाई त्याग गर्दै नयाँ संकल्प लिने दिनका रुपमा पनि यसलाई लिने गरिन्छ ।

साथिभाई इष्टमित्र बीच शुभकामना आदानप्रदान, नाचगान, घुमघाम गरेर समेत मनाउने परम्परा रहिआएको छ । तर, यस पटक भने माहौल फरक रहेको छ ।

यो दिन सरकारले सार्वजनिक बिदा दिन्छ । तर, नेपालीहरु कोरोना भाइरसको संक्रमणबाट बच्न घर भित्र थुनिएको तेस्रो साता चलिरहेको छ ।

घुमघाम त परै जावस, सडकसम्म निस्कने छूट पनि नेपालीमा छैन । यस अवस्थाका कोरोनाले नयाँ वर्षको उल्लाह खोसिदिएको छ ।

सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुन्छ ।

नेपाल भित्र मात्र नभएर विश्वभर छरिएर रहेका नेपालीमा समेत नयाँ वर्षको उत्तिकै रौनक हुन्छ । नयाँ सालको उपलक्ष्यमा पूजाआजामा जाने परम्परा रहेको छ ।

तर, यस वर्ष मन्दिर सम्म जाने छूट पनि नेपालीलाई हुने छैन ।

यस दिन पशुपतिनाथ, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार, टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रा विशेष थिए ।

लकडाउनका कारण यी सबै जात्रा रोकिएका छन् । देशभर आयोजना हुने रमाइला मेलाहरुसमेत स्थगित भएका छन् ।