विश्व

भ्याक्सिन नबनेसम्म कोरोना नियन्त्रणमा नआउने

जेनेभा । कोरोना भाइरसको भ्याक्सिन नबनेसम्म यसको संक्रमण नियन्त्रणमा आउन नसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्पष्ट पारेको छ । कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने संगठनको भनाई छ ।

भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमणलाई केही हदसम्म नियन्त्रणमा राख्न सकिएपनि पूर्णरुपमा निर्मुल गर्न भने नसकिने डब्लुएचओले जानकारी गराएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा दौरान कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको सेमेत उल्लेख गरे ।

पूर्णरुपमा कोरोनाको महामारी हटाउन प्रभावकारी खोपको आवश्यकता तत्काल देखिएको उनको भनाई छ ।

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन१)बाट विश्वभर १८ हजार पाँच सय मानिस मात्र मरेका थिए ।

२०१९ डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा पहिलोचोटी देखिएको कोरोना भाइरसले चार महिनामा २० लाख मानिस संक्रमित भएका छन् ।

१ लाख १९ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ । तर, कोरोना भाइरसको औषधि पत्ता लागेको छैन ।

डब्लुएचओका प्रमुख गेब्रियससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड–१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।