स्वास्थ्य

सनसीटी अपार्टमेण्टमा बस्ने दुई जनामा कोरोना पुष्टी

भक्तपुर । सोमबार साँझ सनसीटी अपार्टमेन्टबाट अस्पताल भर्ना भएका तीन जना मध्ये दुई जनामा कोरोना पुष्टी भएको छ । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आमा, छोरा र बुहारी मध्ये आमा र छोरामा कोरोना पुष्टी भएको हो । तर, बुहारीको भने नेगेटिभ आएको छ ।

भक्तपुरको पेप्सीकोला–टाउनप्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा एकै परिवारका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै यस अपार्टमेन्ट र आसपासका क्षेत्रमा भने सन्त्रास शुरु भएको छ ।

प्रहरीले अपार्टमेन्टलाई पूर्णतया सिल गरेको छ । मानिसहरु अब बाहिर निस्कने पाउने छैनन् ।

यहाँ करीव ५ सय १० परिवारका करिब १५ सय मानिस बसोबास गर्छन् । उनीहरुमा कोरोनाको परिक्षण शुरु गरिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

गत ५ गते बेलायतबाट नेपाल आएका आमा, छोरा र बुहारी यस अपार्टमेन्टको ‘ए’ ब्लकको १४ औं तल्लामा बस्दै आएको प्रहरीले जनाएको छ । आमा ८१ वर्षीया, छोरा ५८ वर्षीय र बुहारी ५२ वर्षिया हुन् ।

अपार्टमेन्टमा ६ वटा ब्लक छन् । संक्रमितहरु बस्ने ब्लकमा करिब एक सय परिवार रहेको प्रहरीले जनाएको छ । संक्रमितहरुमा शुरुमा लक्षण देखिएको थिएन । त्यसकारण उनीहरु १४ दिनको कडा क्वारेन्टाइनपछि भने बाहिर ओर्लने, घुम्ने गर्थे ।

अपार्टमेण्टमा साझा लिफ्ट समेत प्रयोग गरेका थिए । यसले उनीहरुले नचाहँदा नचाहँदै पनि संक्रमण अन्य व्यक्तिमा फैलिएको आशंका बढेको छ । संक्रमित व्यक्ति तीन जना नै बेलायतबाट दोहा हुँदै चैत ५ गते राति नेपाल आएका थिए ।

अपार्टमेन्टमा आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बसेको संक्रमितहरूले बताएका छन् । १४ दिनको कोर्स पुरा गरेपछि उनीहरू तल कम्पाउन्डमा र गेटबाहिर निस्किन थालेको बताएका छन् ।