घूमघाम

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई हाक्ने जिम्मेवारी पूर्वसचिव सुशील घिमिरेलाई दिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले घिमिरेलाई कार्यकारी भूमिकासहितको अध्यक्ष पद दिएको हो ।

करीव ४० अर्ब ऋण बोकेको यो कम्पनीलाई माथि उकास्न घिमिरेको भूमिका महत्वपूर्ण हुने छ ।

किनकी उनी नेपाल एयरलाइन्समा करीव १८ महिना संचालक समिति अध्यक्षको भूमिकामा समेत रहेर काम गरिसकेका छन् ।

२०७१ सालमा नेपाल सरकारको सचिवको भूमिकाबाट सेवानिवृत्त भएका उनी अहिले लक्ष्मी बैंकको अध्यक्षको भूमिकामा समेत रहेका थिए ।

नेपाल एयरलाइन्ससँग अहिले चार वटा अन्तराष्ट्रिय जहाज रहेका छन् । तर, जहाजको अभावले यस कम्पनीले सोचेजती व्यापार गर्न सकेको छैन ।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराईले निगम सुधारका लागि गठन गरेको समितिमा समेत उनी संयोजक थिए ।

उनले नै नेपाल एयरलाइन्समा निजीकरणको विषयलाई पुनः प्रवेश गराएका हुन् ।