फिचर

सागमा पदक विजेता खेलाडीको खातामा गयो पुरस्कार रकम

काठमाडौं । सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको खातामा घोषित पुरस्कारवापतको रकम पठाएको छ ।

गत मंसिरमा नेपालमा सम्पन्न साग लगत्तै विजेता खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले पुरस्कारको घोषणा गरेका थिए ।

उनको घोषणा अनुसारको रकम बुधबार सम्बन्धित खेलाडीको खातामा पठाइएको हो ।

युवा तथा खेलकुद मन्त्रालयका अनुसार सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई बैंक खातामार्फत पुरस्कार रकम पठाइएको छ । पुरस्कारस्वरुप १९ करोड ५३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयको भनाई छ ।

यो रकम प्रशिक्षक र संघका लागि घोषित पुरस्कार बीना नै हो ।

सरकारी कार्यविधि अनुसार सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने व्यवस्था रहेको छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरी कार्यविधिमा स‍ंशोधन गरिएको थियो ।

टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिइएको छ ।

मंसिर तेस्रो साता सम्पन्न सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको हो । यो साग नेपालको इतिहासमा सबैभन्दा सफल थियो ।