विश्व

यूरोपमा थामिदैछ कोरोना कहर, लकडाउन खुला गर्ने तयारीमा मुलुकहरु

काठमाडौं । केही साता अघि दैनिक हजारौं मानिसको ज्यान लिएर त्राहिमाम बनाएको कोरोना भाइरस अब यूरोपेली मुलुकमा भने थामिने क्रममा आएको छ । इटली र स्पेनमा नयाँ संक्रमण तथा मृत्युदरमा समेत ब्रेक लागेको छ ।

र्जमनीमा समेत अब कोरोना नियन्त्रणउन्मुख देखिएको छ । पछिल्लो समय बेलायत र फ्रान्समा बढी मानिसको ज्यान गए पनि अवस्था नियन्त्रण भित्रै रहको सम्बन्धित सरकारहरुले जनाएका छन् ।

नर्वे र बेल्जियमले समेत लकडाउनलाई केही खुकुलो बनाउन लागेको जानकारी दिएका छन् । जर्मन चान्सलर एन्जेला मार्केलका अनुसार देशभर जारी लकडाउनलाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाइएको छ ।

यस मुलुकमाकोरोना महामारी नियन्त्रणउन्मुख रहेको छ । उनका अनुसार जर्मनीमा आगामी सातादेखि पसलहरू खुल्ने भएका छन् ।

आगामी मे ४ देखि विद्यालय सञ्चालनमा ल्याउने योजना रहेको छ । धार्मिकलगायतका ठूला सभा गर्न लगाइएको प्रतिबन्ध आगामी अगस्ट ३१ सम्म जारी रहने छ ।

लकडाउन खुकुलो पारेपनि बार, क्याफे, रेस्टुरेन्ट, चलचित्र हल र संगीत भेन्युजस्ता मानिसको ठूलो संख्या जम्मा हुने स्थान भने बन्द नै रहने भएका छन् ।

जर्मनी कोरोनाबाट प्रभावित हुने विश्वको चौथो मुलुक हो । यहाँ अहिलेसम्म १ लाख ३४ हजार ७ सय ५३ जना मानिसमा संक्रमण देखिएको छ । ३ हजार ८ सय ४ मानिसको ज्यान गएको छ ।