फिचर

कोरोना संक्रमण कायम रहुन्जेल प्रत्येक अमेरिकीलाई मासिक २००० डलर दिने प्रस्ताव संसदमा

न्यूयोर्क

दुई अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभले कोरोना भाइरस संक्रमण अन्त्य नहुन्जेल प्रत्येक अमेरिकीलाई मासिक दुई हजार डलरको आर्थिक सहायता दिने प्रस्ताव संसदमा अघि सारेका छन् । डेमोक्रेटिक सभासदहरु टिम रायन र रो खन्नाले ‘इमर्जिन्सी मनी फर द पिपल एक्ट’ संसदमा प्रस्तुत गर्दै उक्त प्रस्ताव अघि सारेका हुन् ।

पार्टी भित्र रायन मध्यमार्गी र खन्ना सुधारवादी धारको राजनीतिकर्मीको रुपमा चिनिन्छन् । चालु डेमोक्रेटिक राष्ट्रपतिय होडमा रायन पनि उम्मेद्वार बनेका थिए भने खन्ना सिनेटर बर्नी स्यान्डर्सको टिममा थिए । उनीहरुको नयाँ प्रस्ताव अनुसार १६ बर्ष उमेर पुगेका एवं बार्षिक एक लाख ३० हजारभन्दा थोरै कमाउने सबै अमेरिकीले कम्तिमा छ महिनासम्म मासिक दुई हजार डलर पाउनेछन् । उनीहरुले आफ्नो विधेयक मंगलबार संसदमा दर्ता गराएका हुन् ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई निरन्तर राहत दिन यो प्रस्ताव ल्याएको उनीहरुको भनाइ छ । उनीहरुको यो विधेयकलाई १७ जना डेमोक्रेटिक सभासदले समर्थन गरेका छन् ।

तन्नेरी उमेर पुगेकालाई दुई हजारका अलावा बालबालीकालाई मासिक पाँच सय डलर उपलब्ध गराउने प्रस्ताव पनि विधेयकमा रहेको छ । यो रकम संघीय सरकारले सिधै अमेरिकीको खातामा, चेक वा मोवाइल डिपोजिट मार्फत पठाउन प्रस्ताव गरिएको छ । ‘दशौँ लाख अमेरिकीले केही सातामै वेरोजगारी दर्ता गराएका छन्, सभासद् रायनले भनेका छन् – उनीहरुलाई सहायता पुर्याउन हामीले तत्काल कदम चाल्नु पर्ने हुन्छ र त्यो भनेको उनीहरुको हातमा नगद उपलब्ध गराउनु नै हो ।’

दुई साता अघि पारित भएको ‘केयर एक्ट’ अनुसार अमेरिकी सरकारले एक पटकका लागि प्रत्येक वयश्क अमेरिकी करदातालाई १२ सय डलर उपलब्ध गराउन थालेको केही दिनमै यो प्रस्ताव अघि सारिएको छ । १२ सय राहतले यो संकटसँग जुध्न पर्याप्त नहुने तथ्यप्रति सजग रहँदै आफुहरुले नयाँ प्रस्ताव अघि सारेको सभासद खन्नाको भनाइ छ । अमेरिकमा पछिल्ला तीन सातामा दुई करोड बढिले रोजगारी गुमाएको रिपोर्ट गरि सकेका छन् ।