समाचार

डाक्टर कुट्ने प्रहरी कर्मचारी कारवाहीमा

काठमाडौं । बुधबार ड्यूटी सकेर खाना खान जाने क्रममा डाक्टरलाई लकडाउन उल्लंघनको अभियोगमा कुटपिट गर्ने प्रहरीमाथि संगठनले कारवाही थालेको छ ।

सोहीक्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय डाक्टरमाथि प्रहरीले बुधबार साँझ लाठि बर्साएको थियो ।

लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले चिकित्सकलाई गरेको कुटपिटको घटना बुधबार नै सार्वजनिक भएको थियो ।

लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको नेपाल प्रहरीले जनाएको छ । लम्साललाई छानबिनका लागि रानीपोखरी तानिएको बताइएको छ ।

यसअघि संगठनले घटनाको छानविनका लागि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति समेत गठन गरेको थियो ।

समितिले अनुसन्धान थाल्नु अगाडी नै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ।

घटनामा प्रहरीबाट कमजोरी भएको संलग्न प्रहरी कर्मचारीले स्वीकार गरिसकेका छन् । डाक्टरले आफु डाक्टर भएको कार्ड देखाउँदा समेत प्रहरीले कुटपिट गरेको जानकारी गराएका थिए ।