समाचार

एनआरएन फेमिली मेम्बर कार्डको फाईदा के छ त ?

विश्वन्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्ना सदस्य र उनीहरुका आफन्तका लागि एनआरएन फेमिली मेम्बर कार्ड वितरण शुरु गरेको छ । संघले आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर कार्ड वितरण शुरु गरेको छ । संघका अध्यक्ष भवन भट्टले फेमिली मेम्बर कार्ड वितरण शुरु गरेका छन् । एनआरएनले गैरआवासीय नेपाली र उनीहरुका आफन्तका लागि बिपत परेका बेला आर्थिक सहायता उपलब्ध गराउन कार्ड वितरण गरिएको जनाएको छ ।
कार्ड प्राप्त गर्ने सदस्यले होटेल, ट्राभल एजेन्सी, अस्पताल, व्यापारिक मल लगायतका क्षेत्रमा सहुलियत दिने एनआरएनको तयारी छ । त्यसका लागि एनआरएनले क्षेत्र पहिचान गरेर काम गरिरहेको जनाएको छ । विभिन्न ७ सय कम्पनीसँग एमओई गर्ने तयारी भइरहेको पनि एनआरएनले जनाएको छ । एनआरएन फेमिली मेम्बर कार्ड लिनका लागि शुरुमा प्रतिव्यक्ति १ हजार नेपाली रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।
हरेक वर्ष नेपालमा डिजास्टर आएका बेला रकम संकलन गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थायी प्रकृतिको संरचना बनाउन लागिएको संघका अध्यक्ष भवन भट्टले बताए । उनले भने– ‘हरेक वर्ष नेपालमा कुनै न कुनै प्रकारको डिजास्टर आउँछ । कहिले आँधीबेहरी आउँछ भने कहिले भूकम्प आउँछ । धेरै सोसाइटी प्रोगाम गर्नुपर्ने हुन्छ । त्यसैले यस्तो खालको कार्यक्रम गर्नुपर्ने भएकाले यो कार्यक्रमलाई ल्याइएको हो ।’
एनआरएनमा संसारभरका झण्डै ७० हजार आबद्ध रहेका छन् । सम्पूर्ण सदस्य र उनीहरुका आफन्तलाई लक्षित गरेर पनि यो कार्यक्रम ल्याइएको अध्यक्ष भट्टको दाबी छ । उनले भने– ‘ग्लोबल्ली एनआरएनमा आबद्ध छन् उनीहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यति मात्र होइन धेरै सोसाइटी प्रोग्राम पनि गर्नुपर्ने हुन्छ । महिला समितिसँग मिलेर महिलाको आङ खस्ने रोगको क्याम्पेन गर्नुपर्ने हुन्छ । घरेलु हिंसाका समस्या पनि छन् । त्यसका लागि सजिलोसँग च्यारिटी होस् भनेर पनि नयाँ कार्यक्रम आएको हो ।’
हरेक मेम्बरका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेपछि दुई वर्षसम्म नवीकरण गर्न नपर्ने मेम्बर कार्ड दिइने एनआरएनले जनाएको छ । ‘हरेक सदस्यका लागि दुई वर्षको कार्ड दिइनेछ । त्यसको शुल्क प्रतिव्यक्ति १ हजार रुपैयाँ रहेको छ । त्यसबाट एनसीसीले ३ सय रुपैयाँ राख्नेछन् । बाँकी रहेको दुई सय रुपैयाँ डिजास्टर, शिक्षा र महिला बालबालिकाको क्षेत्रमा खर्च हुनेछ । बाँकी रहेको ५० प्रतिशत रकम संस्थाले प्रयोग गर्नेछ,’ अध्यक्ष भट्टले जानकारी दिए ।
फण्ड सञ्चालनका लागि एनआरएनले नयाँ खालको मेकानिजम बनाएको जनाएको छ । डिजास्टरको क्षेत्रमा हरेक वर्ष अभियान चलाउनुपर्ने भएकाले स्थायी प्रकृतिको कोष स्थापनाका लागि एनआरएन आईसीसीले पहल थालेको हो । संघका अध्यक्ष भट्टले भने– ‘यसमा सबै एनआरएन सदस्य र उनका आफन्तले भाग लिने संघको अपेक्षा छ । यसका लागि मेकानिजम बनाइएको छ । डिजास्टरका लागि च्यारिटी गर्नुपर्ने भएकाले यसलाई नयाँ ढंगले अगाडि बढाउन खोजिएको हो । सम्भवतः सबै साथीले भाग लिनुहुन्छ । हामीले सबैको सहभागिताको विश्वास गरेका छौं । मेम्बरसिप लिएका व्यक्तिलाई लाभ दिनका लागि ७ सय कम्पनीसँग एमओई गर्ने तयारी गरेका छौं । मेकानिजम बनाइएको छ । डिजास्टरबाट च्यारिटी गरेरै गर्नुपर्ने भएकाले सम्भवतः सबै साथीहरुले भाग लिनुहुन्छ भन्ने लाग्छ । यसले लगानी पनि हुने र सबै साथीहरु भाग लिनुहुन्छ भन्ने विश्वास गरेका छौं । ७०० सय कम्पनीसँग एमओई गर्दैछौं ।’

 

कार्डबाट हुने फाइदा

एनआरएनका सदस्य र तिनका परिवार तथा आफन्तलाई लक्षित गरेर कार्ड वितरण शुरु गरिएको हो । आइतबार गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरेर कार्ड वितरण प्रक्रियाका बारेमा समेत जानकारी दिइएको छ । एनआरएन फेमिली मेम्बर कार्ड एनआरएनमा आबद्ध सदस्य, उनका नेपालमा बसोवास गर्ने बाबुआमा, श्रीमान्–श्रीमती, छोराछोरीले प्राप्त गर्नेछन् । तर, विवाह गरेका सन्तानका लागि यो योजना लागू नहुने संघले जनाएको छ ।
एनआरएनले नेपालको डिजास्टर म्यानेजमेन्टमा सहयोग पु¥याउने उद्देश्यले ल्याएको यो योजनाअन्तर्गत सदस्यले समेत लाभ लिनसक्ने गरी योजना बनाएको छ । फेमिली मेम्बर कार्ड लिने व्यक्तिले विभिन्न व्यावसायिक प्रतिष्ठानबाट लिने सेवा, बस्तुमा सहुलियतको सुविधा पाउनेछन् । कार्डबाहक आफ्ना व्यक्तिलाई एनआरएनसँग सम्झौता गरेका प्रतिष्ठानले बस्तु तथा सेवामा निश्चित प्रतिशतको छुट दिनेछन् । यो योजनाअन्तर्गत नेपालभित्र मात्र नभएर एनआरएनले सम्झौता गरेका विदेशस्थित कम्पनीले पनि छुट दिने एनआरएनले जनाएको छ ।
नेपालभित्र संघले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय, क्याम्पस, होटल तथा रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल एण्ड टुर एजेन्सीबाट टिकटमा छुट, बैंकिङ क्षेत्र, बीमा, फिटनेस सेन्टर र सूचना तथा सञ्चार लगायतका विभिन्न ७ सय कम्पनीसँग सम्झौताको तयारी गरिरहेको छ । संघका सदस्यले फेमिली मेम्बर कार्डका लागि एनआरएनको केन्द्रीय सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण बुझाउनुपर्ने हुन्छ । कार्ड क्यूआरसहितको हुनेछ ।
एनआरएनले विदेशमा बस्ने आफ्ना सदस्यको हित र नेपालको डिजास्टर म्यानेजमेन्ट दुवै काम एकैसाथ गर्न सकियोस् भनेर यो योजना ल्याएको हो । विदेशमा झण्डै ४० लाख नेपाली रहेको अनुमान गरिए पनि अहिलेसम्म संघमा झण्डै ७० हजारको हाराहारीमा मात्र आबद्धता रहेको छ । त्यसैले सदस्यता थप्ने र सदस्य लिन प्रोत्साहन पुग्नेगरी यो योजना ल्याइएको संघकी उपाध्यक्ष सपिला राजभण्डारीले जानकारी दिइन् । उनले लामो समयदेखिको प्रयासले सफलता प्राप्त गरेको जानकारी दिँदै सेवा सुविधा बिस्तार गरेर सबैको हितमा एनआरएन सक्रिय हुने बताइन् । कार्ड वितरण शुरु गर्ने कार्यक्रममा एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकालसहित एनआरएनका आईसीसी सदस्य, एनसीसी पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक क्षेत्र र मानवीय क्षेत्रका विभिन्न पक्षमा काम गर्ने एनआरएनको घोषणासँगै अहिले सामूहिक लगानीको पनि प्रक्रिया अगाडि बढेको छ । निश्चित कोष कडा गरेर सामूहिक लगानी गर्नेगरी उपाध्यक्ष कुमार पन्त नेतृत्वको टोलीले यसअघि सरकारसँग गरेको सम्झौताअनुसार सबै नेपालीको लगानीका लागि पनि काम गरिरहेको अध्यक्ष भट्टले बताएका छन् । विभिन्न क्षेत्रमा विदेशमा बस्ने नेपालीले आईपीओका रुपमा लगानी गर्न पाउने र त्यसको प्रतिफल पनि समान ढंगले वितरण गर्नेगरी आफूहरु काममा जुटेको उनको भनाइ रहेको छ ।
लगानीको क्षेत्रमा पनि फेमिली मेम्बर कार्ड जस्तै गरी लगानी जुटाउने तयारी गरिएको छ । अहिले सबै प्रकारका लगानीका सम्भावनामा छलफल चलिरहेको छ । विदेशमा बस्ने नेपालीको सामूहिक लगानी र व्यक्तिगत प्रतिफल दिने गरी लगानीको वातावरण बनाउन एनआरएनका नेताहरु लागेका छन् । संघले सरकारसँग १० अर्बको लगानी सम्झौता गरिसकेको छ । यसले एनआरएनको सामूहिकतामा सहयोग पुग्ने संघको विश्वास छ । विदेशमा बस्ने तर थोरै पूँजी हुने सदस्यलाई समेत प्रत्यक्ष लाभ मिल्नेगरी लगानीको वातावरण बनाइने एनआरएनका पदाधिकारीको प्रतिबद्धता रहेको छ ।
एनआरएनमा पछिल्लो समय व्यक्तिगत हितका लागि संस्थालाई नेताहरुले प्रयोग गरेको आरोप लागेपछि सामूहिक लगानी र व्यक्तिगत प्रतिफलको अवधारणामा छलफल चलिरहेको हो । अध्यक्ष लगायत पदाधिकारीले राज्य संयन्त्रको पहुँचमा पुगेर आफ्नो व्यक्तिगत व्यवसायमा फाइदा पुग्ने काम गरेको आरोप लागेको छ । पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले नेपालमा सञ्चालित विभिन्न परियोजनाामा राज्य संयन्त्रको प्रयोग गरेर व्यक्तिगत फाइदा लिएको आरोप लाग्दै आएको छ ।