स्वास्थ्य

बेलायतबाट फर्केका आमाछोरासहित नेपालमा एकै दिन १४ नयाँ संक्रमित पुष्टी

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा बेलायतबाट फर्किएका आमाछोरामा कोरोना पुष्टी भएको हो । उदयपुरमा भेटिएका १२ जना मध्ये भने ६ जना भारतीय रहेको बताइएको छ ।

उनीहरु एक मस्जिदमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि चिकित्सकसहितको टोलीले कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । नेपालको पहिलो संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।

नेपालमा विदेशबाट फर्केर पनि अस्पतालमा स्वास्थ्य चेकअप नगराएका कारण उनीहरुमार्फत समुदायमा जोखिम बढेको छ ।

त्यसमा पनि विकसित र सचेत मुलुकबाटै फर्किएका नागरिकले बढी वेवास्थ गरेका छन् । यसै समस्याले गर्दा पछिल्लो समय विदेशबाट फर्केर लुकेर बसिरहेका मानिसको खोजी गर्न स्थानिय तहरु सक्रिय भएका छन् ।