फिचर

कोरोना कहर चर्किँदै जाँदा ट्रम्पको पुनर्निर्वाचन सपनामा लाग्दैछ धक्का

न्यूयोर्क/

कोरोना कहरबीच अमेरिकी चुनावको मिति नजिकिँदै जाँदा राष्ट्रप्रति डोनाल्ड ट्रम्पको पुनर्निवार्चन सपनामा चुनौती देखिन थालेको छ । सन् २०१६ मा तीन राज्यमा ७७ हजार मतान्तरको जीतका कारण ह्वाइट हाउस छिरेका ट्रम्पलाई यसपाली सबै स्विङ राज्यहरु चुनौती पूर्ण देखिएका हुन् ।

अघिल्लो पटक ट्रम्पले साढे तीन प्रतिशत बिन्दुको जितेको एरिजोनामा सम्पन्न पछिल्ला १३ सर्भेक्षणमध्ये एउटामा मात्र डेमोक्रेटिक जो बाइडेनभन्दा अगाडी छन् । २०१६ को राष्ट्रपतिय चुनाव पछि २०१८ को सिनेट निर्वाचनमा एरिजोनामा डेमोक्रेटिक उम्मेद्वारले विजय हासिल गरेका थिए । राज्यमा बढ्दो ल्याटिनो जनसंख्या ट्रम्पका लागि चुनौती बनि रहेको छ ।

अघिल्लो चुनावमा डेमोक्र्याटका लागि धेरै महंगो सावित भएको फ्लोरिडा पनि रिपब्लिकनको हातबाट चिप्लिने लक्षण देखिन थालेका छन् । कोरोना भाइरसले राष्ट्रपतिय होडमा गहिरो असर पारि सकेको छ र अहिलेको सम्मका संकेतले ट्रम्पको पुनर्निर्वाचनका लागि यो धेरै घातक हुन सक्ने देखिन्छ । विश्लेषकहले ट्रम्पलाई थप चार बर्ष ह्वाइट बस्ने गरि २७० इलेक्टोरल मत पुग्ने संभनाव दिनहुँ साँघुरो बनि रहेको बताउन थालेका छन् । २०१६ मा पेन्सिलभेनिया, मिसिगन र विसकनसनमा चामत्कारिक जित निकाल्दै ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । हिलारी क्लिन्टनका लागि सहज ठानिएका यी राज्य कुल ७७ हजार मतअन्तर सहित ट्रम्पले हत्याए । यी तीन राज्यमा कुल १३ करोड ६० लाख मत खसको थियो भने यी राज्यसँग ४६ इलेक्टोरल कलेज रहेको छ । हिलारी भन्दा ३० लाख कम मत ल्याए पनि ट्रम्प ३०४ इलेक्टोरल कलेज सहित राष्ट्रपति निर्वाचित भएका थिए । यदि यी तीन राज्य डेमोक्रेटले नगुमाएको भए ट्रम्पको इलेक्टोरल कलेज २६० मा सिमित हुन्थ्यो भने २७८ इलेक्टोरल कलेज सहित हिलारी राष्ट्रपति निर्वाचित हुने थिइन् ।

अहिले पनि यी तीन राज्य फर्काउन सके डेमोक्रेटिक उम्मेद्वारलाई ह्वाइट हाउस छिर्न पर्याप्त हुन्छ । तीन राज्यमध्ये विसकनसनमा स्वेत अमेरिकीको बाक्लो वस्ती रहेको कारण ट्रम्पलाई केही सहज हुने अनुमान छ । तर, अघिल्लो साता सम्पन्न राज्यको सर्वोच्च अदालतको एक न्यायाधिशका लागि भएको निर्वाचनले ट्रम्प सपनामा राम्रै धक्का पुर्याएको छ ।

निर्दलीय चुनाव हुने विसकनसन सर्बोच्च अदालतका लागि ट्रम्प एवं रिपब्लकिन समर्थनमा बहालवाला न्यायाधीश डेनियल केली र डेमोक्रेटिक समर्थनमा काउन्टी न्यायाधिश जील जे कारोफस्काइ उम्मेद्वार थिए । केलीलाई भोट अपिल गर्दै ट्रम्पले पटक पटक ट्विट गरेका थिए । अप्रिल ७ का लागि तोकिएको चुनाव कोरोना संक्रमण सार्न डेमोक्रेटिक गभर्नर टोरी एभर्सले गरेको प्रस्ताव रिपब्लिकन बहुल हाउस र सिनेटले अश्विकार गरेको थियो । अन्नतः रिपब्लिकन बहुल राज्यको सर्बोच्च अदालतले गभर्नरको निर्णय खारेज गरिदियो ।

सहज अवस्थामा मतदान गर्न दिँदा धेरै डेमोक्रेटले भोट हाल्ने र आफ्नो उम्मेद्वार हार्ने रिपब्लिकन बुझाइ थियो । सर्वसाधारणले बाध्य भएर छ फिट दूरी कायम गर्दै दुई घण्टासम्म लाइन बसेर भोट हाले । नतिजा रिपब्लकिनका लागि चक्मा दिने खालेको आयो । साढे १५ लाख भोट खसेकोमा केली डेढ लाख बढि मतान्तरले पराजित भए । शहर आसपासको वस्तीमा रहेको पकड रिपब्लकिनले गुमाइ सकेका छन् भने ट्रम्पले खोसेका साना टाउनहरु फेरि डेमोक्रेटिक कित्तामा फिर्ता हुन थालेका छन् ।

साथै कडा मेहनत मार्फत विसकनसनमा केही राम्रो गर्न सके पनि निर्वाचन जित्नका लागि ट्रम्पले अघिल्लो पटक जितेका सबै राज्य हत्याउनु पर्ने हुन्छ । जुन अहिलेको अवस्थामा भने असंभव प्रायः देखिएको छ ।

सूर्योदयको राज्य भनेर चिनिने फ्लोरिडाका २९ इलेक्टोरल कलेज ट्रम्पको पुनर्निर्वाचनका लागि अपरिहार्य छन् । सन् २००८ र २०१२ मा ओबामाले जितेको फ्लोरिडा २०१६ मा ट्रम्पले खोसेका थिए । सन् २०१८ को मध्यावधि चुनावसम्म पनि फ्लोरिडा रिपब्लिकन खातामै थियो । डेमोक्र्याटले देशब्यापी रुपमा शसक्त प्रदर्शन गरेको उक्त चुनावमा फ्लोरिडाको सिनेट र गभर्नर दुबै सिट झिनो मतान्तरका साथ रिपब्लकिनले हत्याएका थिए । त्यही जित निरन्तरताको अपेक्षा सहित केही समय अघि मात्रै फ्लोरिडालाई ट्रम्पले नयाँ गृहराज्यको रुपमा चुनेका थिए । तर, कोरोना भाइरसप्रतिको सुस्त सम्बोधनले रिपब्लकिन ब्राण्डमै गम्भीर धक्का लागि सकेको छ ।

भाइरसबाट राज्यको पर्यटनमा आधारित अर्थतन्त्र अन्य राज्यभन्दा धेरै प्रताडित भइ सकेको छ । सोही कारण हालैसम्पन्न आई- ९५ को सर्भेक्षण अनुसार फ्लोरिडामा बाइडेनले ट्रम्पलाई छ प्रतिशतले उछिनेका छन् । देशब्यापी मत सर्भेक्षणमा पनि ट्रम्पको कामप्रति जनताको सन्तुष्टि ओरालो लागि सकेको छ । ग्यालप न्युजको सर्भेमा अघिल्लो महिना ट्रम्पको कामप्रति सकारात्मक धारणा राख्ने अमेरिकी ४९ प्रतिशत पुगेका थिए । अहिले त्यो संख्या ४३ प्रतिशतमा झरेको छ ।

(डेली न्यूजको सहयोगमा)