स्वास्थ्य

वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुका कारण नयाँ भाइरसको उत्पत्ति भएको भन्दै यसको व्यापारमा कडा प्रतिवन्ध लगाउन सुझाव दिएको छ ।

संसारका सबै मुलुकले यसमा कदम चाल्नु पर्ने संगठनको भनाई छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामका अनुसार अध्ययनबाट ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको पुष्टी भएको छ ।

सोहीकारण वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई छ ।

चीनको वुहान शहरस्थित जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस उत्पत्ति भएको बताइएको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोसले जीवित जनावरको बिक्री हुने बजारलाई प्रतिवन्ध लगाउन र मानिसको स्वास्थ्य दृष्टिकोणबाट तोकिएका मापदण्ड पुरा भएपछि मात्र खोल्न अनुमति दिनुपर्ने उनको सुझाव छ ।

टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेकोमा सचेत गराएका छन् ।

डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको बताएको छ । यसमा अध्ययनकर्ता लागिपरेका छन् ।