समाचार

नेपालका चौथो संक्रमित पनि निको भएर घर फर्किए

धनगढी । नेपालमा कूल ३१ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसरी संक्रमण पुष्टी भएका ३१ जनामध्ये १२ जना भारतीय रहेका छन् ।

नेपाल भित्रका नागरिकमध्ये पनि ४ जना भने निको भएर घर फर्किएका छन् ।

आइतबार धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर घर फर्किएका हुन् ।

कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटकको कोरोनामा नतिजा नेगेटिभ आएसँगै उनलाई आइतबार डिस्चार्ज गरिएको हो ।

पहिलो रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी चैत २२ मा अस्पताल भर्ना भएका हुन् । उनको शनिबार र आइतबार नेगेटिभ रिपोर्ट आएसँगै डिस्चार्ज गरिएको छ ।

घर फर्किएपछि पनि बिरामीले एक सातासम्म भने सामाजिक दुरी कायम गर्नुपर्छ । भारतबाट चैत ११ मा घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना देखिएको थियो ।

यसअघि शनिबार नै काठमाडौं र बागलुंगमा एक एक जना महिला कोरोनालाई जित्दै घर फकिएका थिए ।

नेपालका पहिलो संक्रमित युवक भने ३ महिना अगाडी नै घर फर्किएका हुन् । अब नेपालका विभिन्न अस्पतालमा २८ जना संक्रमित उपचारार्थ रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।