समाचार

राष्ट्रपतिबाट दुबै अध्यादेश जारी

काठमाडौं । मन्त्रीपरिषद् बैठकले सोमबार सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आजै जारी गरिदिएकी छिन् ।

मन्त्रिपरिषद्ले सिफारिस गरेर शितल निवास पठाएको दुबै अध्यादेश राष्ट्रपतिबाट तत्काल जारी भएको हो ।

राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट अध्यादेश जारी भएको हो ।

सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था सहित पठाएको थियो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा परिषद् बैठक बस्न प्रमुख प्रतिपक्षी दल नचाहिने गरी संशोधन भएको छ । अहिले विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।