समाचार

कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा, शुन्यभन्दा तल झर्यो भाउ

न्यूयोर्क

कोरोना भाइरसको संक्रमण गहिरिँदा कच्चा तेलको मूल्य इतिहासकै न्यून विन्दुमा झरेको छ । अमेरिकी कच्चा तेल सोमबार शुन्यभन्दा पनि तलको बिन्दुमा झरेको हो ।

आज एनवाईमेक्समा एक ब्यारल कच्चा तेलको मूल्य माइनस १.४३ डलरसम्म झर्यो । सन् १९८३ मा एनवाईमेक्स स्थापना भएयताकै सबैभन्दा कम मूल्य हो त्यो । फ्युचर बजारमा अहिले मे कन्ट्र्याक्टमा लगानीकर्ताले कुनै चासो दिएका छैनन् । अधिकांश लगानीकर्ताले जुन कन्ट्र्याक्टमा आँखा लगाउन थालेका छन् ।

जुन फ्युचर कन्ट्र्याक्टमा पनि अमेरिकी बेञ्चमार्कको रुपमा रहेको वेष्ट टेक्सास इन्टरन्शनलले २२ डलर प्रति ब्यारलमा कारोबार गरेको छ । यो मूल्य पनि एक दिनमा १२ प्रतिशत गिरावट पछिको हो । अन्तर्राष्ट्रिय बेञ्चमार्कको रुपमा रहेको ब्रेन्ड क्रुड फ्युचर्सले पनि झन्डै चार प्रतिशतले मूल्य घटाउँदै प्रति ब्यारल २७ डलरको दरले कारोवार गरेको छ ।

कोरोना भाइरस संक्रमणको कारण विश्वव्यापी रुपमा पेट्रोलियम खपत घटेपछि गत महिना ठूला उत्पादकहरु रसिया र साउदी अरेवियाले मूल्य गिरावटको होड सुरु गरेका थिए । पछि अमेरिका सहित उनीहरुबीच उत्पादन कटौतीमा सहमति भएको थियो । तर, त्यति हुँदा पनि मूल्यको गिरावट रोकिएन ।

तेलको मूल्यमा तीब्र गिरावटसँगै अमेरिकी सेयर बजार पनि ओरालो लागेको छ । सोमबार तीन बजेसम्ममा डाउजन इन्डष्ट्रियल एभरेज दुई प्रतिशत भन्दा धेरैले घटि सकेको छ । अर्का साता कोकाकोला, नेटफ्लिक्स, डेल्टा जस्ता कम्पनीहरुले सन् २०२० को पहिलो तीन महिनाको आय सार्वजनिक गर्दैछन् । यसपाली यी कम्पनीको सन् १९९८ पछिकै ठूलो आय गिरावट झेल्ने अनुमान सुरु भएको छ ।