स्वास्थ्य

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो

काठमाडौं । संसारभर कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १ लाख ७० हजार भन्दा माथि पुगेको छ ।

पछिल्लो २४ घन्टा भित्र विश्वभर ५ हजार ३ सय ३९ जनाको ज्यान गएसँगै कूल आंकडाले क्रमशः उचाई छोइरहेको छ ।

विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये ६ लाख ४६ हजार २ सय ४८ जना निको भएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १९ सय ३९ जनाको मृत्यु भएको छ।

अमेरिकामा कोरोना थामिने कुनै संकेत देखिएको छैन । यस मुलुकमा अहिलेसम्म मृतकको संख्या ४२ हजार ५ सय १४ पुगेको छ। संक्रमित भने झण्डै आठ लाख रहेका छन् ।

मंगलबार बिहानसम्म ७ लाख ९२ हजार ७ सय ५९ जनामा संक्रमण भएको छ । अमेरिकामा सोमबार मात्र २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिए ।

इटालीमा २४ हजार मानिसको ज्यान गएको छ । स्पेनमा २० हजार ८ सय ५२ जनाको ज्यान गएको तथ्यांक छ ।

सोमबार मात्र यहाँ ३ सय ९९ जनाले ज्यान गुमाए । यद्दपी इटली र स्पेनमा अब कोरोनाको भयानक संक्रमण करीव नियन्त्रणमा आइसकेको छ ।

फ्रान्समा पनि २० हजारभन्दा बढीको ज्यान गएको छ । बेलायतमा १६ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

नेपालमा ३१ जनामा संक्रमण देखिएको छ । ४ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो तीन दिन यता नेपालमा कोरोना संक्रमित देखिएका छैनन् ।