स्वास्थ्य

नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना

विराटनगर । नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण भेटिएको छ । सबै व्यक्ति उदयपुरको भूल्केका हुन् । उदयपुरमा मंगलबार बिहान एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।

साँझ थप ९ जनाका कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै उदयपुर अब नेपालमा कोरोना भाइरसको इपिसेन्टर बनेको छ ।

यहा मात्र कूल २३ जनामा कोरोना पुष्टी भइसकेको छ । उदयपुरमा निरन्तर कोरोनाका नयाँ बिरामी भेटिएपछि प्रदेश सरकारले उदयपुर जिल्ला सिल गर्ने निर्णय गरिसकेको छ । ।

अब यस जिल्लाका सबै नाका बन्द गरिने भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

त्यसमा पनि ९ जनामै कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यता काठमाडौंमा गरिएको परीक्षणमा उदयपुरकै एक जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो ।

उनीहरुलाई कोशी प्रादेशिक अस्पतालमा लगिएको छ । थप संक्रमित समेत सोही मस्जिद क्षेत्र वरपरका वासिन्दा रहेको अस्पताल स्रोतले जनाएको छ ।

अब नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।