कला / साहित्य

एउटा बिचित्रको सम्मान

समा श्री
काठमाडौं

सभाहलमा एक प्रसिद्ध संस्थाको वार्षिक कार्यक्रमका साथै वरिष्ठ कविहरूलाई बिबिध विधामा पुरस्कार तथा सम्मान गरिने भएको थियो । कार्यक्रम सुरु भयो, मञ्चमा आसन ग्रहणको लागि बोलावट भएका नामसँगै तारिफको पोको र विशेषणका गुठरी जोड्न थालियो । सम्मान तथा पुरस्कार ग्रहण गर्नेहरुको संख्या लगभग पचास साठीको हाराहारीमा थिए । समयमै कोही नपुगेकाले एक त कार्यक्रम एक घण्टा ढिला सुरु भयो, त्यसमाथि कार्यक्रम संचालकले आफ्नो बक्तृत्व कला देखाउने मौका गुमाउन नचाहेकोले कार्यक्रम झनै लम्बिन थालेको थियो । वक्ताहरू आउँदै गए, अनावश्यक बयानवाजीले समय खाँदै गए । यता आयोजकलाई भने समयमै सभाकक्ष खाली गरिदनु पर्ने पिरलोले सताऊन थाल्यो । जतिसक्दो छिटो कार्यक्रम टुङ्याउन संकेत गरे पनि कार्यक्रम लम्बिँदै गयो । प्रमुख अतिथिले सञ्चालकको विवसता बुझेका थिए तर उनी पनि लचार हुन बाध्य भए ।
अन्त्यमा प्रमुख अतिथिबाट पुरस्कार वितरणको घोषणा भयो । प्रमुख अतिथि उठे, माइकमा गए र भने– ‘आज सम्मानित हुनुहुने आदरणीय कविज्यूहरू तथा विभिन्न विधामा पुरस्कृत हुन लाग्नु भएका महानुभावहरू, समयाभाव र सभाकक्ष खाली गरिदिनु पर्ने बाध्यताका कारण म तपाईंहरू सबैलाई आ–आफ्नो नामको पुरस्कार र प्रमाणपत्रहरू अगाडि आएर आफैँले खोजेर लिएर जान हुन हार्दिक अनुरोध गर्दछु । साथै आफुलाई मन पर्ने रङ्गको खादा पनि लगाएर संस्थाको इज्जत राखिदिन हुन अनुरोध गर्दछु ।’
सम्मानित हुनुपर्ने कविहरू तथा पुरस्कृत हुनु पर्ने व्यक्तित्वहरूलाई मञ्चमा सजाएर राखिएका पदक तथा पुरस्कारले गिजाउन थाल्यो ।
तर एकै छिनमा तँछाडमछाड गर्दै प्रमाणपत्र खोज्न र पुरस्कार खोज्नेहरू व्यस्त देखिन थाले, खादाले गर्दन बेरिन थाल्यो तर कार्यक्रम भने सेल्फीको फ्ल्यास लाइटले मधुरो हुदै गयो ।