स्वास्थ्य

नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । नेपालमा बुधबार थप दुईजना कोराना स्रक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा यस भाइरसलाई जितेर घर फर्कने व्यक्तिको संख्या ७ पुगेको छ । बुधबार एकै दिन दुई जना डिस्चार्ज हुँदा यसले समाजमा समेत सकारात्मक प्रभाव छाडेको छ ।

बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

निको भएका धादिङका युवक नेपालको तेस्रो संक्रमित हुन् । उनी चैत ६ गते १६० यात्रु बोकेको एयर अरेबियाको उडान नम्बर जी ९५३७ विमान चढेर नेपाल आएका थिए ।

पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि उनी चैत १२ मा अस्पताल भर्ना भएका हुन् । लगातार दुई परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

उता सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ईन्द्रबहादुर बिक पनि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

उनलाई चैत २२ मा कोरोना पुष्टी भएपछि अस्पताल ल्याइएको थियो । उनीसँगै कैलालीका स्थानीय महिलासहित अन्य दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसअघि विदेशबाट आएका एक जनामा संक्रमण भएको थियो ।

संक्रमित मध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय अमृत शाहीलाई निको भएर घर फर्किसकेका छन् ।

अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिला मात्र अस्पतालमा छिन् । सुदुरपचिममा नयाँ संक्रमण देखिएको छैन ।