समाचार

समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकता हुने भएको छ । यससम्बन्धी सहमति पत्रमा बुधबार राती सम्झौता भएको छ ।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिने भएको छ । पार्टीको झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने गरी सहमति भएको छ ।

चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुने गरी मध्यरातमा सहमति गरिएको हो । राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा सहमति जुटेको हो ।

सहमति पत्रमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका हुन् । पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा लेखिएको छ ।

सरकारले सोमबार पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टीको एउटा समूह अलग गराउन चाहेको थियो ।

त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा पुर्‍याएका हुन् । अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।