स्वास्थ्य

यस्तो छ काठमाडौंको फोहोर राजनीति, वर्षायाममा बिकरालरुप लिंदै   

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमा राजनीति हुनु सामान्य कुरा हो । गोकर्ण डम्पिङ साइटदेखि नयाँ ठाउँ बञ्चरेडाँडासम्मको फोहोर व्यवस्थापनमा राजनीति देखिएको छ । सिसडोल र ओखरपौवामा समेत राजनीतिक खिचातानी बेलाबेलामा हुने गरेको छ । राजनीतिक रुपलेनै वर्षायाममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्यामा पर्छ । यस वर्षपनि त्यस्तै हुनसक्ने फोहोर व्यवस्थापनमा जुटेका नीजि क्षेत्रका कम्पनीले जनाएका छन् ।
उपत्यकामा काठमाडौं र ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्रमा फोहोर संकलनका लागि सयौं कर्मचारी आधुनिक गाडी सहित परिचालन गरेका छन् । तर निजी क्षेत्रको जस्तो प्रभावकारी फोहोर व्यवस्थापनमा महानगर आफैंले काम गर्न सकिरहेका छैनन् । महानगरको फोहोर व्यवस्थापन नीजि क्षेत्रको सक्रियता नहुँदा चल्नै नसक्ने अवस्थामा पुग्छ । अहिले काठमाडौं उपत्यकामा दर्जनौं कम्पनी र सयौं जनशक्ति नीजि क्षेत्रमा क्रियाशिल छन् । त्यसैले मात्र पहिलेको तुलनामा फोहोर व्यवस्थापन हुने गरेको छ ।
निजी क्षेत्रका दर्जनौं कम्पनीले वायो ऊर्जा र रिप्रशोधनका लागि फोहोर प्रयोग गर्ने गरेका छन् । त्यति मात्र होइन नीजि कम्पनीले घरघरबाट फोहोर संकलनको पैसा समेत उठाउने गरेका छन् । यस्तोमा महानगरका कर्मचारीको समेत मिलेमतो हुने गरेकोछ । महानगरका गाडी भने सार्वजनिक ठाउँमा जम्मा भएका फोहोर संकलनमा क्रियाशिल हुन्छन् । बेलाबेलामा फोहोर संकलनमा राजनीतिक पक्ष विपक्षले हड्ताल हुँदा काठमाडौं उपत्यका दुर्गन्धित हुने गरेको छ । अहिलेको अवरोध मुख्य रुपमा स्थानको कुरा भन्दा पनि जनशक्तिको व्यवस्थापनमा देखिएको समस्या प्रमुख रहेको महानगर स्रोतले जनाएको छ ।
वर्षायाममा भने उपत्यकाको फोहोर व्यवस्थापनमा मौसम बाधक बन्ने गरेको छ । बाटोघाटो राम्रो नहुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिनु पर्ने बाध्यता रहेको छ । १० वर्षदेखि नयाँ स्थानमा फोहोर फाल्ने महानगरको तयारीमा समस्या आएको छ । उपत्यकाका अन्य नगरपालिकाले आआफ्नो क्षेत्रमा सामान्य साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएका छन् । बेलाबेलामा हुने राजनीतिक खिचातानीले लामो समयदेखि नयाँ ठाउँ फोहोर फाल्न योग्न बन्न सकेको छैन ।
सरकारले उपत्यकाको फोहोर व्यवस्थापन धादिङ र नुवाकोटको सीमामा पर्ने बञ्चरेडाँडामा काठमाडौँको फोहर व्यवस्थापन (डम्पिङ साइट) स्थायीरुपमा गर्ने भनेको १० वर्ष बित्न लाग्दा पनि राजनीतिकै कारण बन्न सकेको छैन । पहिले नुवाकोट ककनी गाउँपालिका–२ सिसडोल र विस २०६२ मा वडा नं ३ ओखरपौवामा अस्थायी फोहर फाल्ने र त्यसको तीन वर्षपछि धादिङको धुनेवेशी नगरपालिका–१ स्थित बञ्चरेडाँडामा स्थायीरुपमा फोहर फाल्ने संरचना बनाउने भने तापनि अझै बनेको छैन ।
बञ्चरेडाँडामा स्थायी संरचना बनाउन नसक्दा अव्यवस्थित फोहर व्यवस्थापनले गर्दा त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । फोहर व्यवस्थापनका लागि सरकारले उक्त ठाउँको एक हजार ७८१ रोपनी जमीन अधिग्रहण गरे पनि स्थायी संरचना अझै तयार पारेको छैन । ती अधिग्रहण गरिएको जग्गाको मुआब्जासमेत सरकारले दिइसकेको छ । असारसम्म बञ्चरेमा स्थायी संरचना बनाएर फोहरलाई व्यवस्थापन गर्ने भने तापनि अझै बनेको छैन ।
बञ्चरे डाँडामा काठमाडौँको फोहर ५० वर्षका लागि व्यवस्थापन गर्न सकिन्छ । शुरुमा काठमाडौँ महानगरपालिकाको फोहर फाल्ने भने पनि पछि उपत्यकाका १८ वटा स्थानीय तहका फोहर फाल्न थालिएको छ । सरकारले पाँच वर्षभित्र स्थायी संरचना बनाएर फोहर व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म नबनाएकाले जनजीवन कष्टकर बनेको धुनेवेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए । उक्त ठाउँमा विसं २०६२ देखि काठमाडौँ उपत्यकाको फोहर फाल्ने गरिएको छ ।
दुई वर्षमा अस्थायीरुपमा ककनीको ओखरपौवा र सिसडोलमा फोहर फाल्ने र त्यसपछि तीन वर्षमा बञ्चरेडाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार निर्माण गरी फोहर व्यवस्थापन गर्ने भनिएकामा १० वर्ष बित्न लाग्दा पनि अझै संरचना तयार पारिएको छैन । “स्थायीरुपमा फोहर व्यवस्थापनका लागि अझै काम शुरु गरिएको छैन,’ उनले भने, ‘अस्थायीरुपमा फोहर व्यवस्थापन गर्नाले यहाँका मानिसको स्वास्थ्यमा असर परिरहेको छ ।’ यही असारसम्म स्थायी संरचना बनाउने प्रतिबद्धता गरे पनि त्यो पूरा नहुने देखिन्छ ।
अहिले रहेको अस्थायी व्यवस्थापन ककनीमा गरिएको छ । ककनीको ओखरपौवामा रहेको अस्थायी फोहरले धादिङका जनता बढी मारमा परेका छन् । उक्त क्षेत्रका बाटोमा हिँड्दा फोहरको दुर्गन्ध आउने गर्दछ । गिद्ध, चिल र कागले फोहर टिपेर मानिसका घरघरमा पु¥याउने गरेको नगर प्रमुख आचार्यले बताएका छन् । यस्तै फोहरको लेदो बगेर खोलामा मिसिन्छ । उक्त खोलाको पानी न गाईबस्तुलाई खुवाउन हुन्छ न खेतमा हाल्नका लागि ।
खोलाको पानी गाईवस्तुले खाए पनि मर्ने र खेतमा हाल्नाले बालीसमेत मर्ने गरेको उनी बताउँछन् । बञ्चरेडाँडामा बन्ने स्थायी फोहर व्यवस्थापनबाट फोहरबाट मल बनाउने, ग्यास निकाल्न सकिने भए पनि अझसम्म कुनै ध्यान जान सकेको छैन । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले दुई वर्षका लागि फोहर फाल्न भनिएको ठाउँमा १० वर्षसम्म पनि फाल्ने गरेको बताए । ‘दुई वर्षका लागि भनिएको ठाउँमा अझै पनि फोहर फालिँदैछ,’ उनले भने, ‘फोहरको दुर्गन्धले गर्दा स्थानीयवासी आफ्नो बासस्थान छाडेर अन्यत्र जान थालेका छन् । चाँडोभन्दा चाँडो बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नुपर्दछ ।’
फोहर गर्दा दक्षिणतर्फका मानिस बढी प्रभावित भएका छन् । गाउँपालिका अध्यक्ष लामाले सिसडोल र ओखरपौवाका २५ जनालाई त्यहाँको फोहरले क्यान्सर रोगसमेत लागेकाले गाउँपालिकाबाट उपचार खर्च दिएको जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पप्रसाद कँडेलले स्थायी संरचना बनाउने प्रक्रिया शुरु गरिएको बताएका छन् । उनका अनुसार विदेशबाट कारखाना ल्याई मल, ग्यास बनाइनेछ । ‘प्लान्ट बनेपछि यहाँका जनतालाई पनि सहज हुनेछ,’ उनले भने, ‘केही वर्षका लागि काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिन्छ ।’ अधिग्रहण गरिएको जग्गामा फोहर व्यवस्थापन (डम्पिङ साइट) बनाउनेमा भेदभाव गरिएको छ ।
ओखरपौवा र सिसडोलमा दुई वर्ष फोहर व्यवस्थापन गर्ने र त्यसपछि बञ्चरेडाँडामा स्थायी बनाउने सहमति भएको थियो । ओखरपौवा र सिसडोलमा फोहर भरिए पनि स्थायी व्यवस्थापन बनिनसकेकाले ती दुई स्थानमा डोजरले माथि पु¥याइ फोहर राखिएको छ । ‘स्थायी संरचना बनाउनुको सट्टा ओखरपौवा र सिसडोलमा फोहरलाई कोचीकोची राख्ने गरिएको छ,’ नगरप्रमुख आचार्यले भने, ‘फोहरलाई जबर्जस्ती व्यवस्थापन गर्नुको साटो चाँडो स्थायी संरचना बनाएर फाल्नुपर्दछ । स्थायी संरचना बनेपछि फोहरबाट कुनै दुर्गन्ध निस्कँदैन ।’
ओखरपौवा र सिसडोलका क्षेत्रको फोहरदेखि ५०० मिटरसम्मका जग्गा अधिग्रहण गरिएको छ भने धादिङको बञ्चरेडाँडाका स्थानीयवासीको भने २०० मिटर क्षेत्रसम्मको जग्गामात्र अधिग्रहण गरिएको छ । धुनेवेंशी नगरप्रमुख आचार्यले अतिक्रमण गर्ने क्रममा आफूहरुलाई भेदभाव गरिएकोसमेत बताएका छन् । अहिले बञ्चरेडाँडामा स्थायी फोहर व्यवस्थापन नगरेर ओखरपौवा र सिसडोलका क्षेत्रलाई नै बढाएर फोहर फालिएको उनको भनाइ छ । ‘हामीले बारम्बार अनधिकृत गरिएको बञ्चरेडाँडामा स्थायी संरचना बनाउने भनेका छौँ,’ उनले भने, ‘तर सरकारले सुनेको नसुनेको जस्तै ओखरपौवा र सिसडोल क्षेत्रको जग्गामाथिसम्म बढाएर अनधिकृत जग्गा बढाएर फोहर फालेको छ ।’ फोहर फाल्ने ठाउँमा सरकारले त्यहाँका जनतालाई स्वास्थ्य उपचार गर्नका लागि स्वास्थ्य चौकी, एम्बुलेन्स, पशु बीमा, बाली बीमा जस्ता कार्यक्रम ल्याउने भने तापनि अझै दिएको छैन ।
नगर प्रमुख आचार्यले नगरपालिकाको पहलमा त्यहाँका जनताका लागि स्वास्थ्य चौकी स्थापना गर्न थालिएको जानकारी गराए । धुनेवेंशी नगरपालिका–१ का वडाध्यक्ष चन्द्र तामाङले फोहरका लागि अधिकरण गरिएको बञ्चरेडाँडामा डम्पिङसाइट चाँडै बनाएर स्थानीयवासीलाई फोहरको दुर्गन्धबाट बचाउनुपर्ने बताएका छन् । आसपासका अन्य स्थानीय तहले पनि फोहोरका कारण मानव स्वास्थ्यमा परेको नकरात्मक असरमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।