स्वास्थ्य

नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना

 

काठमाडौं । नेपालमा ८१ वर्षिय एक वृद्धाले कोरोना जित्न सफल भएकी छिन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनालाई कोरोना देखिएकोमा दुबै जना डिस्चार्ज भएका छन् ।  उनीहरुलाई पाटन अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति  डिस्चार्ज भएका हुन् । उनीहरु  आमा–छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो ।

पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमा–छोरामा देखिएको कोरोना भाइरस पछि अपार्टमेण्टमा सबै सबैको परीक्षण गरिएको थियो । तर, उक्त परीक्षणमा भने कसैलाई पनि कोरोना देखिएन ।

यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो । उक्त परिवारको ५२ वर्षीया बुहारीमा भने रिपोर्ट नेगेटिभ आएको थियो । अब नेपालमा कूल  ९ जनालाई कोरोनाको संक्रमण निको भएको छ ।