फिचर

कतारमा १७ नेपालीलाई मिल्यो आममाफी

काठमाडौं । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी मिलेको छ ।

कोरोना भाइरसको सन्त्रासकाबीच कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कतारका राजाबाट कैदीहरुलाई आममाफी दिने निर्णय भएको नेपाली दूतावासले जनाएको छ ।

राजाको यस निर्णयबाट १७ जना नेपाली लाभान्वित भएका हुन् । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक रिहा हुने पक्का भएको छ ।

कतारको जेलमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका व्यक्ति छुट्न लागेका हुन् ।

कतारमा कोरोनाबाट संक्रमितहरुको संख्या ७ हजार ७ सय ६४ पुगेको छ । बिहीबार एकै दिन ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

यहा १० जनाले ज्यान गुमाइसकेका छन् । कतारमा लाखौं नेपाली कामदार रहेका छन ।