समाचार

देउवाको प्रधानमन्त्रीलाई माग : अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याउनेमाथि कारवाही गर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउने व्यक्तिमाथि कारवाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका उनले उक्त माग गरेका हुन् । शुक्रबार प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार पुगेका थिए ।

केही बेर प्रधानमन्त्री र देउवाबीच भेटवार्ता भएपछि नेकपा अध्यक्ष प्रचण्ड समेत सोही अवसरमा पुगेका थिए । त्यसपछि नेतात्रयबीच छलफल भएको थियो ।

भेटमा देउवाले निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

‘एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यही छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’ देउवाले प्रधानमन्त्रीसँग भनेका छन् ।

समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले प्रधानमन्त्रीकै निर्देशनमा सांसद यादवलाई जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याइएको सामाजिक सन्जालमा लेखेका थिए ।

पार्टी फुटाउने उद्देश्यले काठमाडौंको म्यारियट होटलमा आफ्ना नेताहरुलाई बन्धक बनाएको र आफूहरुले उद्दार गरेको समाजवादीका नेताहरुले बताउने गरेका छन् ।

समाजवादीका नेताहरुले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआईजीपी सर्वेन्द्र खनालले यादवलाई जबर्जस्ती काठमाडौं ल्याएर होटलमा बन्दी बनाएको बताउने गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी विधेयक फिर्ता लिएको छ ।

देउवाले भने गल्ती सच्याएको भन्दै ओलीलाई धन्यवाद दिएका छन् । मुलुक कोरोनाको जोखिमसँग लडिरहँदा अब बिवादका कुरा नल्याउन देउवाले ओलीलाई सुझाव दिएका छन् ।

सभापति देउवाले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि माग गरेका छन् । समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो गर्न नहुने उनको भनाइ छ ।

यसैगरी स्वास्थ्यकर्मीहरुलाई पीपीई लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथाशीघ्र पुर्‍याउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने काम रोक्न, श्रमिकलाई कि खान दिन, कि गाउँ जान दिन पनि देउवाले माग गरेको कांग्रेसले उल्लेख गरेको छ ।