स्वास्थ्य

बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको

बाग्लुङ । बेल्जियमबाट नेपाल आउने क्रममा कोरोना संक्रमित भएकी बाग्लुङकी १९ वर्षीय युवतीले समेत कोरोनालाई जित्न सफल भएकी छिन् ।

यससँगै अब नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ११ पुगेको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिएको छ ।

चैत ४ मा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो।

महिला यसअघि नै निको भएर घर फर्किसकेकी छिन् । युवतीको पाँचौ पटकको परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

यसअघि चारवटा परीक्षणमा भने उनमा कोरोना पोजेटिभ थियो। नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ। अहिलेसम्म कोरोनाबाट नेपालमा मानवीय क्षति भएको छैन ।