फिचर

एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही

काठमाडौं । बसन्त ऋतुमा सगरमाथामा सफल आरोहण गर्ने आरोहीको संख्या ६ सय ५९ पुगेको छ । पर्यटन विभागले बुधबार सार्वजनिक गरेको एकिकृत तथ्यांक अनुसार यस वर्ष सगरमाथा चढ्न ४४ आरोहण दलका ३ सय ८१ र सहयोगी ६ सय ४२ जनाले अनुमति लिएका थिए ।

त्यसमध्ये २ सय ८१ जना मात्र आरोही चुचुरोमा पुग्न सके । आरोही र नेपाली सहयोगी सहित एकै सिजनमा ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

अघिल्लो सिजनको वसन्तु ऋतुमा ५ सय ६३ जना आरोही तथा नेपाली सहयोगी चुचुरोमा पुगेका थिए ।

विभागको तथ्यांक अनुसार उक्त वर्ष ३७ समूहका ३ सय ६१ जना आरोहीले अनुमति लिएकोमा २ सय ६१ जना मात्र चुचुरोसम्म पुग्न सफल भएका थिए ।

४९ करोड ५९ लाख रोयल्टी संकलन

सरकारले बसन्तु ऋतुको आरोहणबाट ४९ करोड ५९ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ । यसमध्ये सबैभन्दा धेरै सगरमाथाबाट उठ्छ । सगरमाथाबाट मात्र ४४ करोड २६ लाख रुपैयाँ संकलन भएको तथ्यांक छ ।

अघिल्लो वर्ष सरकारले विभिनन्न हिमालबाट ४१ करोड २८ लाख रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये सगरमाथाबाट मात्र ३६ करोड १४ लाख रुपैयाँ संकलन भएको थियो ।

८ जनाको निधन
यस सिजनमा सगरमाथामा ८ जनाले ज्यान गुमाए । सगरमाथामा अधिक आरोही तथा सहयोगी मृत्युको कारण स्वास्थ्य समस्या रहेको भन्दै पर्यटन विभागले अधिक आरोहण अनुमति वितरणका कारण सगरमाथामा आरोहीको निधन नभएको स्पष्ट पारेको छ ।