विश्व

इटलीमा नियन्त्रणमा आउँदैछ कोरोना, लकडाउन खुकुलो हुने

रोम । इटलीमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । भाइरसको संक्रमण र मृत्युदरमा उल्लेख्य कमी आएका छ ।

यससँगै सरकारले अब सात हप्तादेखिको जारी लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । इटलीमा मध्य मार्चयता कडा प्रतिबन्ध लगाइएको छ ।

प्रधानमन्त्री गुइसेपे कोन्टेका अनुसार अब क्रमण्शः ती प्रतिवन्धहरु खुकुलो बनाइदै जाने योजना रहेको छ । उनका अनुसार मानिसहरुलाई सानो संख्यामा उपस्थित भएर मास्क लगाएर आफन्तसँग भेट्न दिइने भएको छ ।

पार्कहरु पनि अब खुल्ने छन् । स्कुल भने सेप्टेम्बर महिनाअघि खोल्ने तयारी छैन । इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या घटेर १४ मार्चअघिको अवस्थामा पुगेको छ ।

यहाँ आइतबार २ सय ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इटलीमा लगातार तीन दिन मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ । यसअघि शनिबार ४ सय १५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण धेरै मानिसको मृत्यु हुने देशमा अमेरिकापछि इटली रहेको छ । यहाँ मृत्यु हुनेको संख २६ हजार ६ सय ४४ पुगेको छ ।

इटलीमा अहिलेसम्म १ लाख ९७ हजार ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् । इटालीका अधिकारीहरुले भाइरस र्संक्रमणको दर विस्तारै घट्दै गएको र लकडाउन खुकुलो पार्न उपयुक्त अवस्था भएको बताएका छन् ।