समाचार

नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने

काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि दिने गरेको स्वीकृति पत्र (नो अब्जेक्सन लेटर)को प्रावधान परिवर्तन गरेको छ ।

नयाँ प्रावधान अनुसार अब कक्षा १२ सम्म नेपालमै अनिवार्य शिक्षा लिनुपर्ने प्रावधान ल्याइएको छ । नेपालमा कक्षा १२ पास गरेपछि मात्र विद्यार्थीले विदेश अध्ययन गर्न सरकारको स्वीकृति पाउने भएका छन् ।

पछिल्लो समय कक्षा १० सम्म मात्र हुने एसईइ उत्तीर्ण गर्नासाथ विदेशिने किशोर किशोरीको संख्या बढ्न थालेपछि सरकारले विदेश पढ्न जाने स्वीकृतिको प्रावधान परिवर्तन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भनाई छ ।

नयाँ प्रावधान अनुसार ‘१२ कक्षा उत्तिर्ण भएपछि मात्र ‘ए लेवल पढ्न अनुमति दिइने भएको छ । सरकारले अब १२ कक्षासम्मको शिक्षालाई माध्यमिक शिक्षा घोषणा गरिसकेको छ ।

सोहीकारण कम्तिमा पनि स्वदेशमा विद्यालय शिक्षासम्मको अध्ययन सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिइने मन्त्रालयले उल्लेख गरेको छ ।

पहिले एसएलसी वा सो सरह पास गरेपछि कक्षा ११ र १२ लाई पनि उच्च शिक्षा मान्ने प्रचलन थियो । अहिले भने कक्षा ११ र १२ लाई पनि माध्यामिक शिक्षा मानिछ ।

विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति र विदेशी मुद्रा सटही सुविधाका लागि शिक्षा मन्त्रालयले दिने नो अब्जेक्सन लेटर अनिवार्य छ ।

विदेशमा परिवार भएका र जानै पर्ने बाध्यता भएका विद्यार्थीले कारणसहित परराष्ट्र मन्त्रालय वा राजदूतावासको सिफारिस लिएरआएमा एसईई पढेका विद्यार्थीले पनि नो अब्जेक्सन लेटर पाउनेछन् ।

तर, यसको औचित्य पुष्टि हुनुपर्छ । नेपालबाट वार्षिक ७० हजार हाराहारी विद्यार्थी विभिन्न मुलुकमा अध्ययनका लागि जाने गरेको आंकडा छ ।

नेपालबाट अध्ययनका लागि जाने धेरै विद्यार्थी विदेश पुगेपछि भने पढाई भन्दा कडा परिश्रम गरी काम गरिरहेको भेटिन्छन् ।