फिचर

कृषिमा चितवनको फड्को, अब दूधमा आत्मनिर्भर

चितवन । कृषिमा चितवन जिल्लाको निरन्तर फड्को मार्ने क्रम जारी छ । यसअघि पोल्ट्रीमा आत्मनिर्भर घोषित भइसकेको यो जिल्ला अब दूधमा आत्मनिर्भर घोषणा भएको हो ।

जिल्लामा दैनिक दुई लाख ८९ हजार लिटर दूध उत्पादन हुन थालेको बुधबार आत्मनिर्भर जिल्ला घोषणा कार्यक्रममा जानकारी दिइयो । प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले चितवन दूधमा आत्मनिर्भर भएको घोषणा गरे ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघका अनुसार चितवनमा मात्र दूधको माग दैनिक १ लाख ५६ हजार लिटर छ। बाँकी दूध राजधानी काठमाडौं, बुटवल, पोखरासहित विभिन्न शहरमा बिक्रीका लागि जान्छ ।

दुग्ध विकास संस्थान र विभिन्न निजी डेरी कम्पनीले समेत चितवनबाट ठूलो परिमाणमा दूध किन्ने गर्छन् । दूधपछि अब माछा, केरा र मासुमा पनि चितवनलाई आत्मनिर्भर बनाउन सकिने सम्भावना देखिएको मन्त्री लामाको भनाई छ ।

चितवनमा दूध प्रशोधन केन्द्र खोल्ने तयारी भइरहेको जनकारी दिदै उनले ‘अब सडकमा दूध पोख्ने अवस्था नआउने बताए । उत्पादन र खपतका हिसावले दूधमा चितवन पहिले नै आत्मनिर्भर थियो । घोषणा मात्र अहिले गरिएको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध १ सय ११ वटा दुग्ध सहकारीमध्ये भरतपुर महानगरपालिकामा ५२ वटा, रत्ननगर नगरपालिकामा २१ वटा, कालिका नगरपालिकामा आठ, खैरहनी नगरपालिकामा २३ वटा, राप्ती नगरपालिकामा ६ वटा र माडी नगरपालिकामा एउटा दुग्ध सहकारी क्रियासिल रहेका छन् ।

दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूध अधिकांश स्थानीय स्तरमा रहेका दुग्ध सहकारीमार्फत् संकलन हुने गर्छ। केही किसानले भने सिधै उपभोक्तासम्म पुगेर दूध बिक्री गर्छन् ।