बिचार

ओलीका अस्त्र र महाराजका ‘रफुभर’

पुरुषोत्तम लम्साल, भर्जिनिया

चलन नबिलाएको भए गाउँमा अझै पनि रफू भरिन्छ होला । फेसनको दुनियाँमा चाँहि च्यातिएको, प्वाल परेको, भ्वांग देखिने ठाउँमा पनि कहिले धागोको आडमा त कहिले कपडाको अर्को टुक्रा राखेर रफु भर्ने चलन थियो । यो भनेको मूलतः लाज (भित्री अंग) बाहिरबाट नदेखियोस भनेर दुनियाको आँखामा छारो हाल्ने प्रपञ्च हो ।

यो रफु वस्त्रमा मात्र लगाइदैन, वाणीहरुमा पनि लगाइन्छ । ठूलाले गल्ती बोल्यो भने त्यसलाई प्रमाणित गर्ने अनेक जुक्ति निकालेर हो त नि जस्तो बनाइन्छ । अर्थात् ठूलाहरुको उध्रिएको बोलीमा पनि रफु भरिन्छ । यसका लागि आसेपासेहरु, चम्चा र मदानीहरु मडारिएरै आआफ्नो तर्क र दावी प्रस्तुत गरिरहेका हुन्छन् जसलाई रफुभर पनि भनिन्छ । उनीहरुको काम नै हत्केलाले लाज छेकिदिनु भउकाले अरु कुरा भनिरहनु नै परेन ।

रफुभरको यो किस्सा कुनैबेला हामी चुट्किलाहरुमा खुब प्रयोग गर्थ्यौं । अलि लामा शैलीका जोक्समा पनि प्रयोग गर्थ्यौं । कहिले हमजायगा र कहिले नाइन्टिन फाउन्टिनको नेपाली सैनिक लाहूरेलाई केन्द्रमा राखेर पनि रफुभरको किस्सा सुनाउँथ्यौं । त्यही किस्सालाई श्रम गरेर प्रकाश सुवेदी सरले दुरुस्तै उतारेर सामाजिक सञ्जालमा प्रस्तुत गर्नुभएछ ।

किस्सा यस्तो छः महाराजलाई गफ दिने निकै ठुलो सोख थियो । गफ दिँदा(दिँदै कहाँ कुरो फुस्क्यो भन्ने पत्तै पाउँदैनथे । तर जबजब उनको गफमा ’छिद्र’ देखिन्थ्यो, उनको वरीपरी बसेका ‘रफुभर’हरुले ’रफु’ भरेर कुरा मिलाइदिन्थे । अनी त के चाहियो, महाराज झन मच्ची(मच्ची अझै ठुला गफ दिन्थे ।

एक दिन महाराजले कथा सुनाए; “सबैले ध्यान दिएर सुन, म एक दिन शिकार खेल्न गएको थिएँ । अगाडी अजङगको बाघ देखियो । मैले बन्दुक उठाएँ र गोली चलाएँ । गोली त बाघको देब्रे कानबाट छिरेर सिधै दाहिने खुट्टाको पन्जाबाट पो बाहिर निस्क्यो । बाघ ठाउँको ठाउँ ठहरै !” वरिपरी बसेका सबैले “वाह, महाराज, वाह !” भनें, ताली बजाए ।अलिपर बसेको एक जना मान्छे भने अलि अलमलमा परे झैं देखियो । उसले डराइडराइ सोध्यो; “महाराज, रिसानी माफ होस्, तर त्यो गोली बाघको देब्रे कानबाट छिरेर सिधै दाहिने खुट्टाको पन्जाबाट चाँही कसरी बाहिर निस्क्यो होला ?”

एक छिन त महाराज पनि अलमल्ल परे, तर उनी तुरुन्तै सम्हालिए अनि आफ्ना वरिपरी बसेका रफुभरहरुतर्फ हेरे ।एक जना रफुभरले खुदो मिसिएको आवाजमा प्रष्ट पार्यो, “खासमा के भएको थियो भने नि हजुर, हाम्रा महाराजले गोली हान्दा त्यो बाघले दाहिने खुट्टाले आफ्नो कान कन्याइरहेको थियो । त्यही भएर गोली बाघको देब्रे कानबाट छिरेर सिधै दाहिने खुट्टाको पन्जाबाट बाहिर निस्केको नि !” सबै दङग परे, अनि फेरी ताली बजाउँदै महाराजको अचुक निशानाबाजीको मुक्तकण्ठले प्रशंसा गरे।
अर्को दिन महाराजलाई फेरी अर्को बहादुरीको कथा सुनाउने इच्छा भयो । उनले भने, “ल सुन सबैले, म फेरी अर्को दिन पनि शिकार खेल्न गएँ । यो पाली त झन ठुलो बाघ देखियो । मैले बन्दुक उठाएँ, निशाना लगाएँ र गोली चलाएँ । बाघ त बेतोडले भाग्न पो थाल्यो । मेरो गोली पनि कहाँ चानचुने थियो र ? उस्ले पनि बाघको पिछा गर्न शुरु गर्यो । बाघ अघिअघि, गोली पछिपछि, बाघ अघिअघि, गोली पछिपछि । तर यो बाघ निकै बाठो थियो । उ स्वाट्ट एउटा घरमा छिर्यो र भित्रबाट ढ्याम्म ढोका लगायो । मेरो गोली पनि के कम ! ढोकामा गयो र ’ढकढक’ गर्यो । ‘हैन, को आयो ?’ भन्दै बाघले ढोका खोल्नासाथ गोली त सिधै उसको निधारमा गएर बज्रियो । बाघ ऐय्या पनि भन्न नपाइ ठाउँको ठाउँ ठहरै !” वरिपरी बसेका सबैले पहिले जस्तै ‘वाह, महाराज, वाह !’ भनें, ताली बजाए । पर बसेको त्यही मान्छेले फेरी डराइडराइ सोध्यो; “रिसानी माफ होस्, तर महाराज, त्यो गोली त्यसरी पिछा गर्दै कसरी गयो होला ?” महाराजलाई त के चिन्ता ? उनले मुसुक्क हाँस्दै रफुभरहरु तर्फ हेरे ।
रफुभरहरुले पनि मुखामुख गर्दै एक अर्कालाई हेरे । तर सबै अलमल्ल देखिए । अन्त्यमा एउटा रफुभरले हिम्मत गरेर सानो स्वरमा भन्यो, “महाराज, हामी पर्यौं बबुरा रफुभर । तर यो पाली त छिद्र हैन अली धेरै नै ठुलो भ्वाङग पर्यो, माफ पाउँ, हाम्रो पनि केही सिप लागेन !”

र, ओलीको अस्त्र प्रधानमन्त्री केपी ओलीले अयोध्यालाई अस्त्र बनाएर भारततिर फाले । त्यो पनि मोदीले भारतमा साम्प्रदायिक हिंसा भड्नसक्ने सम्भावनालाई संकेत गर्दै भारत भगवान बुद्धको भूमि भएको दावीसहितको ट्विट गरेको लगत्तै ।

ओलीको अस्त्रले भारतका केही गोदीमिडिया वा पेटमिडियामा त रामायण र महाभारत एकैपटक शुरु गराइदिएको छ । भारतीय मिडियाका कर्कश र चिच्याटलाग्दो शैलीमा मोदीभन्दा ओली धेरै बिकाउ भएका छन्, बजेका छन् । हिजोसम्म नेपाली सीमा मुद्दामा नेपाललाई चीनले उचालेको भ्रमपूर्ण दावीमा उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेका भारतीय मिडिया पुरै विषयान्तर भएर धर्म र सँस्कृतिमा केन्द्रित भएका छन् ।

प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै छ राम नेपालकै हुन् भनेर निशाना चाँहि रावणको नाभी बनाइदिएका छन् । जहाँ मर्म हुन्छ त्यहीं अस्त्र ताकेका छन् । व्यक्तिको शैली हो, अभिव्यक्ति हो नबोल भन्न पाइन्न । तर जसै रफुभरको किस्सा पुनः आयो, मैले भक्त र हनुमानको अर्को किस्सा उस्सै भुलें । आजलाई यत्ति ।