खेलकुद

दिल्लीको टीममा अझै परेनन् सन्दीप, टोली भने विजयी

दुबई । नेपाली स्टार सन्दीप लामिछानेलाई पाँचौं खेलमा समेत दिल्ली क्यापिटल्सले खेलाएन । यद्दपी दिल्ली सोमबारको खेलमा भने विजयी भयो । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको हो । जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

दुबईमा सम्पन्न खेलमा दिल्लीले बैंगलोरलाई १९७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा मात्र १३७ रन बनायो । टोलीका लागि कप्तान विराट कोहलीले सबैभन्दा धेरै ४३ रन जोडेका थिए ।

दिल्लीका कागिसो रबाडाले चार विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो । मार्कस स्टोइनिसले नटआउट ५३ रन बनाउँदै सर्वाधिक रन हानेका थिए । पृथ्वी शा ४२, शिखर धवन ३२ र रिसभ पन्त ३७ रनमा आउट भएमा थिए ।